सूचना प्रविधि

आइटियुको सम्मेलनमा भाग लिन सञ्चारमन्त्री दुबईतर्फ

काठमाडौँ, १३ कात्तिक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा इण्टरनेशनल टेलिकम्युनिकेशन युनियन (आइटियु) को सम्मेलनमा भाग लिन संयुक्त अरब इमिरेट्स (युएइ) को दुबईतर्फ आज अपराह्न प्रस्थान गरे । सम्मेलनमा विश्वभरिबाट आइटियुका सदस्य राष्ट्रका मन्त्री, सचिव तथा उच्चतहका नीतिनिर्माताको सहभागिता रहने मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले बताए । चार वर्षको अन्तरालमा हुने उक्त सम्मेलनले आगामी चार वर्षका लागि अख्तियार गर्ने नीति एवं रणनीतिमा निर्णय हुनेछ ।

आइटियुको महासचिवलगायत परिषद् सदस्य तथा पदाधिकारीको निर्वाचन पनि सोही सम्मेलनमा हुनेछ । मन्त्री बाँस्कोटाको नेतृत्वमा उक्त मन्त्रालयका सहसचिव, उपसचिव तथा युएइस्थित नेपाली दूतावासका कावा राजदूत पनि सहभागी हुने । सम्मेलनमा मन्त्री बाँस्कोटाले सम्बोधन गर्नाका साथै सहभागी देशका मन्त्रीसँग द्विपक्षीय हित र सहयोगका सम्बन्धमा छलफल गर्ने प्रवक्ता ढकालले बताए । दूरसञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा तीव्र गतिमा भइरहेको विकासबाट नेपालजस्तो देशले कसरी अधिकतम लाभ लिन सक्छ भन्नेबारेमा मन्त्री बाँस्कोटाले नेपालको भनाइ प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।