समाचार

लागूऔषध प्रयोगकर्ता हेपाटाइटिस तथा एचआइभी सङ्क्रमणको उच्च जोखिममा

काठमाडौँ । पारिवारिक समस्यालगायत विभिन्न कारणले बालबालिका सडकमा पुग्छन् । शुरुमै उनीहरूको उद्धार हुनसके पुरानै अवस्थामा फर्काउन सकिन्छ । जब पूर्ण कुलतमा फसिसकेका हुन्छन्, त्यसबेला पुनःस्थापन गर्न कठिन हुन्छ, उनीहरूलाई उद्धार गरेर पुनःस्थापनगृहमा लगे पनि भागेर पुरानै अवस्थामा पुग्नु विडम्बना हो ।

लामो समय सडकमा बसेर कुलतमा लागेका र पटक/पटक पुनःस्थापनगृहमा लगेर पुनः सडकमै पुग्नेलाई कडा खालका लागूऔषध प्रयोगकर्ता (हार्ड युजर) भनिन्छ । यस्ता बालबालिका र युवा अत्यन्त जोखिममा छन् । केन्द्रीय बालकल्याण समिति, सडक बालबालिकासम्बन्धी परियोजनाका कार्यक्रम संयोजक चित्र पौडेलले उनीहरू सिरिञ्ज प्रयोग गर्ने भइसकेपछि धैर्यताको विकास गर्ने बानीमा सुधार गर्न नसकिने बताए । तीन वर्षदेखि गरिएको अध्ययनमा यस्ता बालबालिका अहिले युवा अवस्थामा पुगेका छन । तर पुरानै कुलत छाडेका छैनन् ।

ग्लू सुँघ्नेदेखि सिरिञ्जको प्रयोग हुँदै विभिन्न आपराधिक क्रियाकलापमा समेत उनीहरू संलग्न हुने गरेका कतिपयको स्वास्थ्यसमेत जोखिममा छ । असुरक्षित यौनसम्पर्क र लापरवाहीपूर्ण व्यवहारका कारण उनीहरुमध्ये केहिको हेपाटाइटिस तथा एचआइभी सङ्क्रमण भएका समेत पाइएका छन् ।

केही दिनअघि मात्रै बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँ र केन्द्रीय बालकल्याण समितिले काठमाडौँको ज्याठा, ठमेल, बालाजुलगायत क्षेत्रमा रातभर लगाएर सडक बालबालिकाको खोजी ग¥यो । अभियानमा बालबालिकासहित २४ जनालाई उद्धार गरेको थियो । जसमा पाँचजना किशोरी र बालिका रहेको बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी बताउँछन् ।

“उद्धार गरिएकामा सात वर्षदेखि २६ वर्ष उमेर समूहका छन् । उनीहरूमध्ये आधा पहिले पनि उद्धार गरी पुनःस्थापना गृहबाट भागेका फेला परे”, उनी भन्छन् । कडा खालका लागूऔषध प्रयोगकर्ताहरु सडकमा आपराधिक क्रियाकलापमा संलग्न हुने, चोरी र लुटपाटमा संलग्न हुने गरेकाले पुनःस्थापन गृहमा बस्न मान्दैनन् । भागेर फेरि त्यही सडकमा पुग्छन् । पहिलेका सडक बालबालिका अहिले युवा बने । अब उनीहरूको भूमिका फेरिन्छ । नयाँ सडक बालबालिकाको प्रयोग गरेर घटना घटाउन उद्यत गराउँछन् ।

यस्तै गर्दा साना बालबालिका पनि कडा खालका लागूऔषध प्रयोगकर्तामा पुग्छन् र सुधार गर्न गाह्रो हुने गरेको अनुभव केन्द्रीय बालकल्याण समितिका कार्यक्रम संयोजक पौडेलको छ । यसरी उद्धार गरिएकामध्ये ४० प्रतिशत भाग्ने गरेका छन् । उनीहरू पुनः त्यही सडकमा पुग्छन् । केन्द्रीय बालकल्याण समितिका अनुसार २०७३ साल वैशाखदेखि पुनःस्थापन कार्यक्रम सञ्चालनमा रहेको छ । त्यो कार्यक्रमअन्तर्गत अहिलेसम्म ८७३ बालबालिकालाई उद्धार गरिसकिएको जनाइएको छ ।

कतिपय बालबालिका विद्यालय पढ्न जाने, सीप सिकेर काम गर्ने पनि भएका छन् । कतिपय भागेर पुनः सडकमा पुगेका छन् । पछिल्लो तीन महीनामा मात्रै ५० बालबालिकाको उद्धार गरिएको छ । यस क्षेत्रमा सञ्चालित विभिन्न कार्यक्रमका कारण पछिल्लो समय सडक बालबालिकाको सङ्ख्या घटेको समितिको दाबी छ । तर कार्यक्रमले निरन्तरता नपाए यसमा पुनः वृद्धि हुनसक्ने आशङ्का गरिएको छ ।

पुनःस्थापन कार्यक्रम सुस्त

विगतमा सरकारबाट सडक बालबालिका उद्धार र पुनः स्थापनाका लागि रकम विनियोजन हुन्थ्यो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट उद्धार गरिएका लागुऔषध प्रयोगकर्ता सडक बालबालिकाका लागि मासिक रु आठ हजार र सामान्य अवस्थाका सडक बालबालिकाका लागि मासिक रु पाँच हजार रकम आउँथ्यो । उद्धार गरिएका सडक बालबालिकाका लागि त्यतिबेला वार्षिक रु डेढ करोड बजेट सरकारले विनियोजन गरेको थियो ।

उक्त कार्यक्रमले उनीहरूको पुनःस्थापनका लागि सजिलो हुन्थ्यो र उद्धारको कामसमेत प्रभावकारी थियो । तर सङ्घीय व्यवस्थाअनुसार केन्द्रबाट जिम्मेवारी स्थानीय तहमा पुगेपछि अहिले यस क्षेत्रमा बजेटको अभाव देखिएको छ । बजेट अभावका कारण काम सुस्त भएको बालबालिका खोजतलास तथा समन्वय केन्द्र काठमाडौँका प्रहरी नायब उपरीक्षक कृष्णबहादुर राजभण्डारी बताउँछन् ।

उनका अनुसार बजेट नभएकाले प्रभावकारी काम गर्न सकिएको छैन । हालसालै मात्र राष्ट्रिय युवा परिषद्ले सहयोगको आश्वासन दिएपछि उक्त कार्यक्रमलाई अगाडि बढाउने योजना बनाइएको राजभण्डारीको भनाइ छ ।