आर्थिक

शेयर बजार सामान्य बिन्दुले बढ्यो

काठमाडौँ । लगातार घट्दै आएको धितोपत्र बजारमा शेयरको मूल्यमा आज वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्चजकाअनुसार कारोवार मापक नेप्से परिसूचक ७ दशमलब ४३ बिन्दुले बढेर एक हजार २२४ दशमलब ४३ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलब ५८ बिन्दुले बढेर २६० दशमलब ४३ बिन्दुमा पुगेको छ । नेप्से परिसूचकमा वृद्धि भएको भएपनि कारोवार रकम भने घटेको छ । कूल १६३ कम्पनीको नौ लाख २४ हजार ६६५ कित्ता शेयर रु २२ करोड १८ लाख चार हजार ४०६ मूल्यमा खरिद बिक्री भएको छ ।

आज कारोवार भएका दश उपसमूह मध्ये तीन उपसमूहको शेयर भने घटेको छ भने सात उपसमूहको शेयर कारोवारमा वृद्धि भएको छ । होटल १२ दशमलब ८२, जलविद्युत् पाँच दशमलब चार र माइक्रोफाइनान्स एक बिन्दुले घटेको छ । यस्तै बैंकिङ नौ दशमलब १२, विकास बैंक १० दशमलब २१, वित्त शुन्य दशमलब ३९, निर्जीवन बीमा २२ दशमलब ९९, उत्पादन १३ दशमलब शुन्य तीन, अन्य पाँच दशमलब १३ र जीवन बीमा २३ दशमलब ६७ बिन्दुले बढेको छ ।

स्टककाअनुसार नेपाल सेवा लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, मिशन डेभलपमेन्ट बैंकका शेयरधनीले आज कमाएका छन् भने अपि पावर कम्पनी, रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी र हाथवे फाइनान्स कम्पनीका लगानीकर्ताले भने आज गुमाएका छन् ।