खेलकुद

‘पहिलो सहभागितामै दोस्रो चरणमा पुगेकोमा खुशी छौँ’

काठमाडौँ । पहिलो पटक एएफसी यू–१९ च्याम्पियनसिप फुटबलको छनोटमा सहभागिता जनाएको नेपाली महिला टोली दोस्रो चरणमा पुग्न सफल भएको छ । थाइल्याण्डमा यही कात्तिक ६ देखि ११ गतेसम्म भएको च्याम्पियनसिप छनोट खेलमा समूहको दोस्रो स्थानमा रहँदै नेपाल अघिल्लो चरणमा छनोट भएको हो । नेपाली टोलीका मुख्य प्रशिक्षक हरिओम श्रेष्ठले भने, “पहिलो खेलमा पराजित भए पनि त्यसपछिका खेलमा हामीले उत्कृष्ट खेल प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्न सफल भयौँ, यो हाम्रा लागि गौरबको कुरा हो ।”

पहिलो सहभागितामै दोस्रो चरणमा पुग्नु खुशीको कुरा भएको बताउँदै उनले अब दोस्रो चरणका लागि अहिलेदेखि नै राम्रो प्रशिक्षणको खाँचो औँल्याए । “दोस्रो चरणमा अहिलेको भन्दा निकै सशक्त टोली छन्, उनीहरुलाई जित्नु निकै कठिन छ, त्यसैले अहिलेदेखि नै राम्रो प्रशिक्षण गर्नु जरुरी छ ।” दोस्रो चरणको छनोटका खेल सन् २०१९ को अप्रिलमा थाइल्याण्डमै हुनेछ ।

नेपाल पहिलो खेलमा थाइल्याण्डसँग ३–० ले पराजित भएको थियो । त्यसपछिको दुवै खेलमा जित हात पारेको थियो । नेपालले भारतलाई २–० ले तथा पाकिस्तानलाई ९–० गोल अन्तरले पराजित गर्दै अघिल्लो चरण प्रवेश गर्न सफल भयो । अब अन्तिम चरणमा छनोट हुन नेपालले अप्रिलमा हुने दोस्रो चरणको छनोट पार गर्नुपर्नेछ । च्याम्पियनसिप दोस्रो चरणको छनोटमा छ समूहका समूह विजेता र उपविजेतामध्ये उत्कृष्ट प्रदर्शन गर्ने दुई राष्ट्र गरी आठ टोली पुगेका छन् ।

नेपालसहित पहिलो चरणको छनोटबाट अष्ट्रेलिया, इरान, दक्षिण कोरिया, उज्वेकिस्तान, भियतनाम, लेवनान र म्यानमा दोस्रो चरणमा पुगेका हुन् । २०१७ को च्याम्पियनसिपमा शीर्ष तीनमा रहेको जापान, उत्तर कोरिया र चीनबाहेक २७ राष्ट्रले पहिलो चरणको क्वालिफायरमा सहभागिता जनाएका थिए । त्यसबाट उत्कृष्ट आठ टोली दोस्रो चरणको लागि छनोट भएका हुन् । आयोजकको हैसियतले थाइल्याण्ड भने सिधै अन्तिम चरणमा खेल्न पाउनेछ ।

अब यी आठ टोलीलाई दुई समूहमा विभाजन गरेर दोस्रो चरणको छनोटका खेल हुनेछन् । त्यसबाट दुवै समूहको उत्कृष्ट दुई टोली अन्तिम चरणका लागि छनोट हुनेछन् । दोस्रो चरणको छनोट खेल २०१९ मार्चमा हुनेछ । दोस्रो चरणबाट छनोट हुने चार, २०१७ को च्याम्पियनसिपमा शीर्ष तीनमा रहेको जापान, उत्तर कोरिया र चीन तथा आयोजक थाइल्याण्ड गरी कुल आठ टोलीबीच २०१९ को अन्तिममा च्याम्पियनसिप फुटबल प्रतियोगिता हुनेछ ।