अन्तर्राष्ट्रिय

बङ्गलादेशः जियाको सजाय दोब्बर गरियो

ढाका । बङ्गलादेशको उच्च अदालतले विपक्षी नेतृ खालेदा जियाको जेल सजायलाई पाँच वर्षबाट बढाएर १० वर्ष कायम गरेको छ । सोमबार उनीमाथि पाँच वर्षको जेल सजाय सुनाइएको थियो । भ्रष्टाचारको आरोपमा तल्लो अदालतले यसअघि जियालाई १० वर्ष जेल सजाय हुनुपर्ने सजाय तोकेको थियो । बङ्गलादेशको भ्रष्टाचार विरोधी आयोगका वकील खुर्शिद खानले उच्च अदालतले तल्लो अदालतले सुनाएको यसअघिकै फैसलालाई सदर गरेको जानकारी दिए ।

बङ्गलादेश नेसनिस्ट पार्टी (बीएनपी) ले जियामाथि अदालतले सुनाएको आदेश पूर्वाग्रही र राजनीतिक प्रेरित रहेको भन्दै मङ्गलबार राष्ट्रव्यापी विरोध प्रदर्शन गर्ने जनाएको छ । हाल जियाले नै बीएनपीको नेतृत्व गरिरहेका छन् । आगामी संसदीय निर्वाचनमा जियालाई सहभागी हुनबाट रोक्ने गरी अदालतबाट एकपछि अर्को आदेश आएको विपक्षीहरुको भनाइ छ । बङ्गलादेशका महान्यायाधीवक्ता महाबुबे अलामले उच्च अदालतबाट सफाई नपाएको अवस्थामा जियाले चुनावमा भाग लिन नपाउने बताए ।

प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई भ्रष्टाचारको आरोपमा सात वर्षका लागि गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ ।

पछिल्लो आदेशका कारण हसिनामाथि जियाले राजनीतिक चुनौती दिने सम्भावना घटेर गएको छ । बीएनपीका वकीलले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् । जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा फैल्याएको र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दा पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि गम्भीर रहेको छ । उनलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ ।

जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उनका वकीलले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् । गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ ।