पु.समाचार

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे सभामुख र संयोजक भट्टराईबाट जानकारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गरेका छन् ।महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री ओलीलाई भेट्न सभामुख बिहान ८ बजे त्यहाँ पुगेका थिए । भेटपछि सभामुख महराले प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार आएको चिकित्सकले आफूलाई जानकारी दिएको बताए ।

यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्यस्थितिबारे जानकारी लिन नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पनि आजै बिहान शिक्षण अस्पताल महाराजगञ्ज पुगेका थिए । प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे जानकारी दिँदै प्राडा अरुण सायमीले भने, “प्रधानन्त्री ओलीले बिहानी खाजा खानुभयो, दाह्री काटेर चिटिक्क परेर बस्नुभएको छ, भेट्न आएका शुभेच्छुकसँग सजिलोसँग कुराकानी गर्नुभएको छ ।”

प्रधानमन्त्रीको स्वास्थ्य स्थितिबारे अस्पतालले बिहान १० बजे उपचारमा संलग्न चिकित्सकको टोलीमार्फत सञ्चारकर्मीलाई जानकारी गराएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यस्थितिबारे जानकारी लिन र स्वास्थ्य लाभको कामना गर्न पार्टीका नेता एवं कार्यकर्ता र शुभेच्छुकको अस्पताल परिसरमा बाक्लो उपस्थिति रहेको छ ।

छातिमा सङ्क्रमण देखिएको कारण उपचारका लागि प्रधानमन्त्री ओली महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा हिजो सोमबार भर्ना भएका हुन् ।