साहित्य

लोकेन्द्र डहरेका ४ वटा मुक्तक

– लोकेन्द्र डहरे

– जिनाखु ६ डहर, सिन्धुली

मुक्तक १

एकोहोरो जयगान गाउनु पनि भएन ।
बिरुध्दमा यो मुख बाउनु पनि भएन॥
तिम्रो घरको नुन खाएँ भन्दैमा मैले,
आफ्नै घरमा आगो लाउनु पनि भएन॥

साढेहरुलाई पनि दाए पो हुन्थ्यो ।
चोर चण्डाल सबै धपाए पो हुन्थ्यो॥
पाखा लाएर के गर्नु,एउटा बादसाह ?
तानासाह हरू पनि तह लाए पो हुन्थ्यो ॥

आफ्नै फलले झुकाउँछ हाँगोलाई पनि ।
धागोलेनै जेल्दछ धागोलाई पनि ॥
शत्रु आफैंसँग छ,आफैंमा छ दोष,
आफ्नै धुवाँले ढाक्दछ आगोलाई पनि ॥

मशाल होइन महायुध्दको, शान्तिको दीप बालौं अब ।
बाडौं हामी भाइचारा , दुराग्रह द्वेष फालौं अब॥
फाल्देउ हतियार समुन्द्रमा, फालिसकें मैले पनि,
बन्द गरौं यो फोहोरी खेल, आउ अँगालो हालौं अब॥