खेलकुद

रियल मड्रिडका प्रशिक्षक लाेपेटेगी बर्खास्त, सान्टियागो सोलारी अन्तरिम प्रशिक्षकमा नियुक्त

काठमाडौँ । स्पेनिस क्लब रियल मड्रिडले प्रशिक्षक जुलेन लोपेटेगीलाई बर्खास्त गरेको छ । प्रशिक्षक लोपेटेगीको प्रशिक्षणमा रियलले लगातार खराब प्रदर्शन गरेपछि सोमबार राति बसेको क्लबको कार्यकारी बैठकले उनलाई बर्खास्त गरेको हो ।

लोपेटेगी एकै वर्षमा दुई वटा कामबाट बर्खास्तीमा परेका हुन् । विश्वकपअघि रियल मड्रिडमा आवद्ध हुँदा लोपेटेगीलाई स्पेनिस फुटबल संघले बर्खास्त गरेको थियो ।

प्रशिक्षक जिनेदिन जिदानले रियल छोडेपछि उनलाई साढे चार महिना अघि क्लबले प्रशिक्षकमा नियुक्त गरेको थियो । पछिल्लो तीन संस्करणको च्याम्पियन्स लिग विजेता रियल लोपेटेगीको प्रशिक्षणपछि ला लिगामा नवौं स्थानमा झरेको छ, जुन सन् २००१–०२ सिजनपछिकै सबैभन्दा खराब नतिजा हो । लोपेटेगीलाई बर्खास्त गरेसँगै रियलले बी टिमका प्रशिक्षक तथा पूर्व खेलाडी सान्टियागो सोलारीलाई अन्तरिम प्रशिक्षक नियुक्त गरेको छ ।

अन्तरिम प्रशिक्षक सोलारीका लागि अबको खेल केही सहज छ । रियल मड्रिडको प्रशिक्षण सम्हालेपछिको पहिलो खेलमा बुधबार सोलारीको भेट स्पेनिस कप अन्तर्गत दोस्रो डिभिजनको मेरिल्लासँग हुनेछ । त्यसपछि शनिबार ला लिगामा रियल भालाडोलिड र अर्को साता भिक्टोरिया प्लाजेनसँग खेल्नेछ ।

लोपेटेगीलाई बर्खास्त गरेपछि चेल्सीका पूर्व प्रशिक्षक एन्टोरियो कोन्टेलाइ नियुक्त गर्ने चर्चा चलेको भए पनि उनीसँगको छलफल बन्द भएको बताइएको छ । यसको अर्थ सोलारीलाई रियलले मौका दिनेछ । जुन मौका राफेल बेनिटेजको बर्खास्तीपछि जिनेदिन जिदानले पाएका थिए र जिदानले रियललाई तीनवटा च्याम्पियन्स लिगको उपाधि जिताएका थिए ।

स्पेनको नियम अनुशार अन्तरिम प्रशिक्षक १५ दिनमात्र कायम रहनेछन् । १५ दिनपछि क्लबले कि त प्रशिक्षकको जिम्मा दिनु पर्छ कि नयाँ प्रशिक्षक नियुक्त गर्नु पर्छ ।

रियल मड्रिडले म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे मोरिन्हो र एभर्टनका प्रशिक्षक रोबर्टो मार्टिनेजसँग सम्पर्क सुरु गरेको बुझिएको छ । मोरिन्होले सन् २०१० देखि २०१३ सम्म रियललाई ला लिगा र कोपा डेल रेको उपाधि जिताएका थिए ।