आर्थिक

विश्व स्वास्थ्य संगठनको तथ्याङ्क : वायु प्रदुषणका कारण बर्सेनि ६ लाख बालबालिकाको मृत्यु

काठमाडौँ । हरेक वर्ष विश्वभरका झण्डै छ लाख बालबालिकाको मृत्यु वायु प्रदुषणबाट हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सोमबार सार्वजनिक गरेको तथ्याङ्कमा वायु प्रदुषणका कारण हरेक बर्ष १५ बर्षमुनिका छ लाख बालबालिकाको मृत्यु हुने गरेको उल्लेख छ ।

संगठनका अनुसार पाँच बर्ष मुनिका कैयौं बालबालिकालाई वायु प्रदुषणका कारण श्वास प्रश्वासमा समस्या हुनेगरेको छ । “यो अक्षम्य छ, सबै बालबालिकाले स्वच्छ स्वाशप्रश्वास गर्न पाउनु पर्दछ । त्यसो भयो भने मात्रै उनीहरूको राम्रो वृद्धि विकास हुन सक्दछ,” डब्लुएचओले भनेको छ ।

तथ्याङ्क अनुसार प्रत्येक दश जना मध्ये नौ जनाले प्रदुषित स्वास लिने गरेका छन् भने यसबाट लाग्ने रोगका कारण प्रत्येक बर्ष विश्वभरका झण्डै ७० लाखको मृत्यु हुनेगरेको छ ।

वायु प्रदुषण विषेशगरी बालबालिकाका लागि निकै हानिकारक मानिन्छ । प्रत्येक दश जना मध्ये एक बालबालिकाको यही कारणले मृत्यु हुनेगरेको प्रतिवेदनमा उल्लेख छ ।

वायु प्रदुषणले बालबालिकाको स्वास्थ्यमा पारेको असरबारेमा डब्लुएचओले गरेको एक अध्ययनले यस्तो देखाएको हो ।