स्वास्थ्य

युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढ्यो, होशियार !

काठमाडौँ । युवायुवती तथा बालबालिकामा मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको छ ।

नेपालमा सात बालबालिकामध्ये एक तथा पाँच युवायुवतीमध्ये एकमा सो समस्या हुनसक्ने विश्व स्वास्थ्य सङ्गठनले प्रक्षेपण गरेको छ । तर “कुन उमेर समूहका बालबालिका तथा युवायुवतीमा मानसिक स्वास्थ्य समस्या छ” आधिकारिक रुपमा कुनै अध्ययन अनुसन्धान हालसम्म भएको छैन ।

मनोसामाजिक, आर्थिक, जैविक, वातावरणीय आदि कारणले व्यक्तिको भावना एवम् सोचाईमा आउने विचलनले गर्दा देखिने भावनात्मक, संवेगात्मक, समाजिक तथा व्यवहारिक परिवर्तनलाई मानसिक स्वास्थ्य समस्याका रुपमा सो सङ्गठनले परिभाषित गरेको छ ।

मानसिक स्वास्थ्य समस्याले असामान्य रुपमा व्यक्तिको भावना, सोचाई र व्यवहारिक परिवर्तन गराइदिन्छ । यसले गर्दा व्यक्तिको दैनिक क्रियाकलाप, व्यवहार र सम्बन्धमा समेत असर पुग्दछ । यस्तो समस्या जनुसुकै लिङ्ग तथा उमेर समूहलाई हुने मनोचिकित्सकले जनाएका छन् ।

स्वास्थ्य सेवा विभाग, मानसिक स्वास्थ्य शाखामा कार्यरत डा वासुदेव कार्कीले पछिल्लो समय युवायुवती तथा बालबालिकामा समेत मानसिक स्वास्थ्य समस्या बढी देखिन थालेको जानकारी दिए ।

पछिल्लो जनगणना अनुसार १६ देखि ४० वर्ष उमेर समूहमा यो समस्या ४० प्रतिशत रहेको पाइएको छ । ती समूहभित्रका करीब २२ लाख युवायुवती मानसिक स्वास्थ्य समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण मन्त्रालयले गरेको छ ।

उनका अनुसार बाल्यकालमा नमीठा अनुभव, आघातजन्य घटना, लैङ्गिक तथा यौनजन्य हिंसा, समाजिक विभेद्, साथीहरुबाट खिसिट्युरी, आर्थिक विपन्नतालगायतका कारणले मानसिक स्वास्थ्य समस्या देखा पर्दछन् ।

“स–साना बोझ एवम् तनावलाई समयमै उचित ढङ्गले व्यवस्थापन गर्न नसक्दा भविष्य निर्माणमा जुट्न प्रयासरत् युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको हो”, मन्त्रालयका प्रमुख विशेषज्ञ सुशीलनाथ प्याकुरेल बताउछन्।

यसैबीच संस्कृति, अध्यात्म तथा मानसिक स्वास्थ्यसम्बन्धी दुईदिने अन्तराष्ट्रिय सम्मेलन सोमबारदेखि यहाँ शुरु भएको छ ।

त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान, नर्वेको आस्लो विश्वविद्यालय तथा क्यानडास्थित म्यागिल विश्वविद्यालयद्वारा संयुक्त रुपमा आयोजित सो सम्मेलनमा नेपाललगायत अमेरिका, टर्की, भारत, नर्वे एवम् क्यानडाका वरिष्ठ मनोरोग विज्ञको सहभागिता छ ।

सम्मेलनका क्रममा संस्कृति, अध्यात्म एवम् मानसिक स्वास्थ्यका विविध क्षेत्रमा कार्यपत्र प्रस्तुत गरी अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको वरिष्ठ मनोरोग विज्ञ डा सरोजप्रसाद ओझाले जानकारी दिए ।

कार्यक्रममा त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन प्राडा जगदीश अग्रवालले मानसिक रोगीका सङ्ख्या बढिरहेको चर्चा गरे । विश्वस्वास्थ्य सङ्गठनले विश्वमा हरेक ४० सेकेण्डमा एक जनाले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको जनाएको छ ।