राजनीति

मन्त्री पुन स्वदेश फिर्ता

काठमाडौँ । ‘यूरो एशियन इनर्जी फोरम’मा सहभागी भई ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज स्वदेश फर्किए । स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री पुनले सम्मेलन फलदायी भएको र नेपालको ऊर्जा क्षेत्रमा भइरहेको पछिल्लो प्रयासका बारेमा अन्तर्राष्ट्रिय जगत्लाई जानकारी गराएको बताए ।

नेपालमा लगानीको वातावरण बनेको भन्दै उनले भ्रमणका क्रममा अन्तर्राष्ट्रिय समुदायलाई नेपालको पछिल्लो अवस्थाका बारेमा अवगत गराई लगानीका लागि आग्रह गरेको उल्लेख गरे । भ्रमणका क्रममा मन्त्री पुनले सर्वियाका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँग भेट गरेका थिए । भेटका क्रममा द्विपक्षीय हितका विषयमा छलफल हुनुका साथै दुवै देशको बीचमा आगामी दिनमा गर्ने सहकार्यका विषयमा समेत कुराकानी भएको थियो ।

मन्त्री पुनले नेपालको ऊर्जा र जलविद्युत् क्षेत्रमा लगानीका लागि सर्वियाली लगानीकर्तालाई उत्प्रेरित गरिदिनसमेत आग्रह गरेका थिए । यस्तै सर्वियाली नागरिकलाई नेपाल भ्रमणमा पठाउनसमेत आग्रह गरेका थिए । यस्तै नेपाल र सर्वियाबीचको सम्बन्धलाई थप मजबूत बनाउनसमेत भ्रमणले सहयोग पु¥याएको मन्त्री पुनको भनाइ छ । मन्त्री पुन यही कात्तिक ८ गते उक्त सम्मेलनमा भाग लिन सर्विया प्रस्थान गरेका थिए ।