स्वास्थ्य

अस्पताल बनाउन कार्कीको दौड

काठमाडौं । दुर्गम स्थानमा अस्पताल भवन निर्माणमा सहयोग जुटाउने उद्देश्यले धावक रामसुन्दर कार्कीले खुर्कोटदेखि सिन्धुलीगढीसम्म दौड्ने भएका छन् । खुर्कोटदेखि सिन्धुलीगढीसम्म करिब २५ किलोमिटर दूरीको दौड कार्कीले कात्तिक २४ गते तय गर्नेछन् ।

‘दुर्गमको कुन ठाउँमा अस्पताल बनाउन सहयोग गर्ने भन्ने विषयमा साथीभाइहरुसंग सल्लाह भइरहेको छ । साथीभाइहरुकै सल्लाह बमोजिम उचित ठाउँमा अस्पताल बनाउन खर्च कटाएर दौडबाट उठेको रकम सहयोग गर्छु ।’– कार्कीले दौडको उद्देश्य प्रकाश पार्दै भने ।

कार्कीको दौडलाई रुसलानले मुख्य प्रायोजन गर्ने भएको छ भने अन्य प्रायोजकसंग पनि कुराकानी भइरहेको जानकारी दिए ।

यसअघि २०६४ सालमा १ सय १ दिन दौडेर ७५ जिल्ला पुगिसकेको ललितपुरको गोदावारीस्थित गोदामचौर निवासी कार्कीले जानकारी दिए । कार्कीले काठमाडौंदेखि सिन्धुलीगढी २ पटक, काठमाडौंदेखि लुम्बिनी ६ पटक, काठमाडौंदेखि दोलखा ३ पटक र काठमाडौंदेखि पोखरा १ पटक दौडिसकेका छन् । त्यस्तै कार्कीले काठमाडौंदेखि भारतको उत्तर प्रदेश र भुटानको सिमाना फुन्चुलिङ पनि दौडेर पुगेको जानकारी दिए ।