अन्तर्राष्ट्रिय

भ्रष्टाचारको आरोपमा जियालाई थप सात वर्ष जेल सजाय

ढाका । बङ्गलादेशको एक अदालतले पूर्व प्रधानमन्त्री एवं प्रतिपक्षी दलकी नेतृ खालिदा जियामाथि भ्रष्टाचारको आरोपमा अरु सात वर्षको जेलसजाय तोकेको छ । खालिदा जियाका समर्थकहरुले अदालतको उक्त आदेश राजनीतिक प्रेरित रहेको आरोप लगाएका छन् । प्रधानमन्त्री शेख हसिनाकी राजनीतिक प्रतिद्वन्द्वी जियालाई गत फेब्रुअरीदेखि थुनामा राखिएको छ । भ्रष्टाचारको आरोपमा उनीमाथि पाँच वर्षको जेल सजाय तोकिएको छ ।

अदालतको उक्त आदेश आएलगत्तै प्रहरी र मुख्य विपक्षी बङ्गालादेश नेसलिस्ट पार्टी (बीएनपी)का कार्यकर्ताहरुबीच झडप भएको छ । ७३ वर्षीया जियाले कारागारभित्रैबाट बीएनपीको नेतृत्व गरिरहेका छन् । पछिल्लो मुद्दामा न्यायाधीश मोहम्मद अख्तरुज्जमानले दिएको आदेशमा जियाले शक्ति र परोपकारी कार्यका लागि छुट्याइएको तीन लाख ७५ हजार अमेरिकी डलरको दुरुपयोग गरेको उल्लेख छ ।

पछिल्लो आदेशका कारण हसिनामाथि जियाले चुनौती दिने सम्भावना घटेर गएको छ । जियाको पार्टी बीएनपीले भने तत्काल कुनै प्रतिक्रिया दिएको छैन, तर उनका वकीलहरुले अदालतको आदेश राजनीतिक उद्देश्यबाट आएको बताएका छन् । जियाको दलले सन् २०१४ को संसदीय निर्वाचन बहिस्कार गरेको थियो । जियामाथि हिंसा र भ्रष्टाचारसँग सम्बन्धित अरु मुद्दाहरु पनि अदालतमा विचाराधीन छन् । ढाकाको केन्द्रीय कारागारमा रहेकी जियाको स्वास्थ्य अवस्था केही महिनादेखि कमजोर रहेको छ । उनलाई जेलभित्रै उपचारको व्यवस्था मिलाएको बताएको छ ।

जियाको मुद्दाको सुनुवाई गर्न कारागारभित्रैको एक कोठालाई अस्थायी अदालतका रुपमा परिणत गरिएको छ । उनका वकीलहरुले सरकारको यो कदम असंवैधानिक भन्दै यसको विरोध गरेका छन् । गत महिना पनि अदालतले हाल बेलायतको लन्डनमा निर्वासित जियाका छोरा तारिक रहमानलाई आजीवन कारावासको सजाय सुनाएको छ ।