अन्तर्राष्ट्रिय

काबुलमा आत्मघाती आक्रमण, केही घाइते

काबुल । अफगानिस्तानको स्वतन्त्र निर्वाचन आयोग (आइइसी) को प्रवेशद्वारनजिकै सोमबार भएको एक आत्मघाती बम आक्रमणमा परी कम्तीमा ६ व्यक्ति घाइते भएका अधिकारीहरुले जानकारी दिएका छन् । यस आक्रमणको तत्काल कुनै समूहले जिम्मेवारी लिएको छैन । अफगानिस्तानको राजधानी काबुलमा रहेको आइइसीको मुख्यालयमा गत अक्टोबर २० मा भएको संसदीय निर्वाचनको मतपेटिका ल्याइएको छ ।

निर्वाचन आयोगका कर्मचारीहरु चढेको सवारी साधनभन्दा करिब २० मिटर टाढा आत्मघातीले विस्फोट गराएको काबुलका प्रहरी प्रवक्ता बासिर मुजाहिदले एएफपी समाचार समितिलाई बताए । यस आक्रमणमा चारजना आइइसीका कामदार र दुई प्रहरी अधिकृत घाइते भएका मुजाहिदले जानकारी दिए । लामो समयदेखि स्थगित भएको अफगानिस्तानको संसदीय निर्वाचनमा लाखौंले सहभागिता जनाएका थिए ।

अफगानिस्तानको निर्वाचन अगाडी हत्याहिंसा मच्चाउने प्रतिज्ञा गरेर बसेका तालिबान आतङ्ककारीहरुले गरेका दर्जनौं आक्रमणमा परी सयौं व्यक्ति मारिनुको साथै घाइते भएका छन् । अफगानिस्तानमा संसदको तल्लो सदनको २४९ सदस्यका लागि भएको यस निर्वाचनमा दुई हजार ५०० ले उम्मेदवारी दिएका थिए । निर्वाचनसँग सम्बन्धित हिंसामा १० जना उम्मेदवारको मृत्यु भएको छ ।