स्वास्थ्य

भेरीअञ्चल अस्पताल स्तरोन्नति हुने

नेपालगञ्ज । यहाँस्थित भेरीअञ्चल अस्पताल स्तरोन्नतिका लागि प्रयास थालिएको छ । अस्पतालमा बिरामीको चाप बढ्दै गएको र वर्षौ पुराना जीर्ण भवनका कारण उपचार प्रभावित भएकाले स्तरोन्नतिको प्रयास थालिएको हो ।

बाँकेबाट सङ्घीय संसद्मा प्रतिनिधित्व गरेका शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईको पहलमा अर्थ मन्त्रालयले भवन निर्माणका लागि सहमति प्रदान गरेको थियो । मन्त्री राईका अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी अस्पताल भवन निर्माणका लागि सहमति माग गरेकामा मन्त्रिस्तरीय निर्णयले निर्माण कार्यअघि बढाउन सहमति दिएको थियो ।

यसअघि उक्त अस्पतालमा क्याथ ल्याब निर्माणका लागि अर्थ मन्त्रालयले रु डेढ करोड उपलब्ध गराउने निर्णय गरेको थियो । सरकारबाट १०० र अस्पताल विकास समितिबाट ५० गरी अस्पतालले हाल १५० श्यया सञ्चालन हुँदै आएको मेडिकल सुपेरिटेण्डेण्ट रुपानन्द अधिकारीले बताए ।

प्रतिबन्धित जडीबुटी बरामद

भन्सार छलेर भारत लैजान लागिएको प्रतिबन्धित जडीबुटी जटामासी सशस्त्र प्रहरीले बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक गणेशकुमार सिंहको नेतृत्वको टोलीले डुडुवा गाउँपालिका—१ नयाँ बस्तीबाट ७५ किलो बराबरको सो जडीबुटी बरामद गरेको हो । प्रहरी टोलीले जडीबुटीसँगै भारतीय नम्बर प्लेटको एउटा मोटरसाइकल समेत बरामद गरेको छ । बरामद गरिएको जटामसी र मोटरसाइकल डिभिजन वन कार्यालय बुझाइएको छ । सरकारले जटामासीको सङ्कलन तथा बिक्री वितरणमा रोक लगाएको छ ।