बाग्मती

विभिन्न अपराधमा संलग्न दुई फरार अभियुक्त पक्राउ

नुवाकोट । विभिन्न अपराधमा संलग्न भई फरार रहेका दुई अभियुक्तलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ । कर्तव्य ज्यान मुद्दामा अदालतबाट फैसला भएर फरार किस्पाङ गाउँपालिका–१ भाल्चेका चन्द्रबहादुर तामाङलाई प्रहरीले विदुर–४ सिमचौरबाट पक्राउ गरी जिल्ला अदालत पेश गरेको हो । अदालतको फैसलानुसार कारागार चलान गर्न आदेश दिइएपछि तामाङलाई जिल्ला कारागार पठाइएको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । तामाङले २०६९ साउन ७ गते किस्पाङ गापा–१ भाल्चेका ३८ वर्षीय सुकबहादुर तामाङको हत्या गरेको आभियोगमा उच्च अदालत पाटनले २०७२ असार १३ गते जन्मकैदको फैसला गरेको थियो ।

यस्तै मानव बेचबिखनमा संलग्न भएको आरोपमा जिल्ला अदालतमा मुद्दा विचाराधीन अर्का फरार अभियुक्त दुप्चेश्वर गापा–२ गाउँखर्कका ५० वर्षीय काइँला भनिने छिरिङदोर्जे तामाङलाई हेटौंँडाबाट पक्राउ गरी ल्याइएको प्रहरीले जनाएको छ । आरोपित तामाङले एक युवतीलाई ललाइफकाई बिक्रीका लागि भारत लैजाने प्रयास गरेको प्रहरीले जनाएको छ । ती युवतीलाई बिक्रीका लागि गाउँबाट ल्याउँदै गर्दा २०७४ असार १२ गते खरानीटारबाट प्रहरीले उद्धार गरेको थियो भने सँंगै आएका तामाङ फरार भएका थिए ।