समाचार

अध्यक्ष दाहालद्वारा मास्केप्रति श्रद्धाञ्जलि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षासेवी एवं नेकपाका पुराना नेता सीताराम मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गरे ।

नेकपाको मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थियो । अध्यक्ष दाहालले मास्केको पार्थिव शरीरमा नेकपाको झण्डासमेत ओढाउनु भएको थियो । सोही अवसरमा नेकपाका वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णुप्रसाद पौडेल, सचिवालय सदस्य वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा, नेता अग्निप्रसाद सापकोटालगायतले पनि मास्केप्रति श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।

माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा एक महीनादेखि उपचार गराउँदै आएका ७१ वर्षीय मास्केको शनिबार मस्तिष्कघातका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । विसं २००४ माघ १९ गते आमा पदमकुमारी मास्के र बुबा विष्णुप्रसाद मास्केको कोखबाट तेह्रथुमको जलजलेमा जन्मिएका मास्केका चार छोरा र श्रीमती छन् । उनी निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सञ्चालन भएको राजनीतिक आन्दोलन, विद्यार्थी आन्दोलन, प्राध्यापक तथा शिक्षक आन्दोलनका क्रममा पटकपटक गरी तीन वर्ष जेल तथा हिरासतमा परेका थिए ।

मास्के २०४३ सालमा भएको पञ्चायती निर्वाचनमा काठमाडौँ नगरपालिकाको प्रधानपञ्चमा नेकपा (माले) को तर्फबाट उम्मेदवार भएका थिए । उनले तत्कालीन मालेको काठमाडौँ जिल्ला कमिटी सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका संस्थापक कोषाध्यक्ष रहेका मास्केले सरकारी शिक्षक सेवाबाट निवृत्त भएपछि स्वयम्भूस्थित जलजला शिशु सदन सञ्चालन गरेका थिए ।

मास्के राष्ट्रिय खेलकूद परिषद्को उपाध्यक्ष र निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन) को समेत महासचिव रहेका थिए । उनले पुष्पलाल श्रेष्ठसँग सम्पर्क भएपछि राजनीति थालेका थिए । हाल काभ्रेस्थित नमोबुद्धमा बस्दै आएका मास्के खेलकूद क्षेत्रको विकासको साथै उपभोक्ता जागरण अभियानका अभियन्तासमेत रहेका थिए । यसैबीच पेशागत महासङ्घ नेपालले मास्केको निधनप्रति दुःख व्यक्त गरेको छ । महासङ्घका अध्यक्ष विश्वनाथ प्याकुरेलले आज विज्ञप्ति निकाल्दै मास्केको निधनले मुलुकको वाम तथा लोकतान्त्रिक आन्दोलन, पेशागत आन्दोलन तथा सामाजिक जागरण आन्दोलनलाई क्षति पुगेको बताए ।