शिक्षा

अध्ययन र करिअरमा ध्यान दिनु पर्ने युवामा बढ्दै मानसिक समस्या

काठमाडौं । एकोहोरो टोलाउने र पढाइमा ध्यान नदिएको भन्दै एमबिबिएस चौथो वर्षमा अध्ययनरत एक युवकलाई उनको अभिभावकले मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र पुर्‍याए ।

उपचारको क्रममा उनी कडा खालको मानसिक रोगबाट पीडित भएको पत्ता लागेको हो । केन्द्रका मनोचिकित्सक डा. पशुपति महतले अभिभावकलाई उनलाई नियमित र समयमा औषधि खान सल्लाह दिए । अभिभावकले विभिन्न खालको उपचार गर्दा समेत रोग पत्ता नलागेपछि मानसिक रोगको अनुमान गरेको डा. महतले बताए ।

उनले भने, ‘अहिलेसम्म लक्षणका आधारमा अभिभावकले सन्तानलाई मानसिक रोग लागेको छुट्टाउन सक्दैनन् ।’ अध्ययन र ‘करियर’ मा ध्यान दिनुपर्ने उमेरमा धेरै युवा मानसिक रोगका पीडित छन् । देशभरमा कति मानसिक रोग पीडित छन्, भन्ने एकीकृत तथ्याङ्क छैन ।

स्वास्थ्य मन्त्रालयले केही समय अघिबाट मात्रै तथ्याङ्क संकलन शुरु गरेको छ । मनोचिकित्सक र मानसिक रोग विशेषज्ञसम्म आउने बिरामीका आधारमा युवामा यो समस्या बढेको देखिएको हो ।

परिवारको मात्रै नभएर देशको समेत भविष्य निर्धारण गर्ने युवा मानसिक रोगका कारण कुनै पनि कार्य राम्रोसँग गर्न नसक्ने अवस्थामा रहेको डा. महतले बताए । समयमा उपचार नहुँदा सामान्य समस्या समेत कडा खालका मानसिक रोगमा परिवर्तन भइसक्छ ।

उनले भने, ‘आफ्ना सन्तानलाई मानसिक रोग लाग्दा समयमा नै उपचार गराउनु पर्छ भनेर अभिभावकलाई सुसूचित गर्न खाँचो छ ।’ आफूभित्र रहेको चिन्ता व्यक्त गर्न नसक्दा कतिपय युवाले आत्महत्या समेत गरिरहेका छन् । कतिपय युवा भने चिन्ता कम गर्नकै लागि लागूऔषध र मदिरापान गरिरहेका छन् ।

अझैसम्म आम नागरिकले सडकमा बेवारिसे भएर हिंड्नेलाई मात्रै मानसिक रोगी मान्ने गरेको डा. महतले बताए । आफ्नो छोराछोरी असामान्य व्यवहार देखाइरहेको छ कि छैन भन्ने कुरा अभिभावकले नै ध्यान दिनुपर्ने उनले बताए । रोग हो भन्ने बुझेका अभिभावक स्वास्थ्य संस्थामा लैजानुभन्दा धामी, झाँक्री कहाँ जाने गरेका छन् ।

टिचिङ अस्पतालमा कार्यरत मनोचिकित्सक डा. सरोज ओझाले देशभरमा कति मानसिक रोगी छन्, भन्ने एकीकृत तथ्याङ्क नभए पनि झण्डै २२ लाख युवा यो रोगबाट पीडित भएको अनुमान गरिएको बताए । नेपालमा मात्रै नभएर धेरै विकासोन्मुख देशमा मानसिक रोगीको संख्या बढ्दै गएको छ ।

उनले भने, ‘ग्रामीण क्षेत्रमा धेरैले यो रोगको उपचार हुन्छ, भन्ने समेत जानकारी नभएर रोग पालेर बसिरहेका छन् ।’ नेपालमा वैदेशिक रोजगारीका कारण पनि धेरै खालका मानसिक समस्या बढेको डा. ओझाले बताए । वैदेशिक रोजगारीमा गएका व्यक्ति र उनको परिवारमा समेत अनेक मानसिक समस्या देखिरहेको छ ।

श्रीमान विदेश गएपछि श्रीमती हरेक दिन फोन कुर्ने र नआउँदा वा सम्बन्धमा समस्या आउँदा त्यसले चिन्ता बढाउने गर्छ । श्रीमान वैदेशिक रोजगारीमा जाँदा श्रीमतीमा धेरै खालको मानसिक समस्या देखिरहेको छ । उनले भने, ‘एकातिर श्रीमानसँगको सम्बन्ध सुमधुर नहुनसक्छ भने एर्कातिर सन्तान र परिवारको जिम्मेवारी समेत थपिन्छ ।’

इन्टरनेटलगायतका प्रविधिले पनि धेरै खालका मानसिक समस्या बढाएको छ । भूकम्पका समयमा भएका क्षतिले पनि धेरैमा मानसिक समस्या बढेको पाइन्छ । मानसिक स्वास्थ्यका क्षेत्रमा कार्यरत संस्था ‘अब्बल उइ’ का निर्देशक विजया विजुक्च्छे धेरै युवाले आफूभित्र रहेको समस्या गुम्साएर राख्दा त्यही समस्या मानसिक रोगमा परिणत हुने गरेको बताउँछन् ।

साधारण कुरालाई असाधारण मानेर चिन्ता गरिरहँदा त्यही समस्याले विकराल रुप लिन्छ । आफूलाई मानसिक रोग लागेको व्यक्तिले पनि थाहा नपाउने र परिवारका सदस्यलाई पनि थाहा नहुँदा त्यसैले ठूलो रुप लिएको हो । उनले भने, ‘सानो समस्या हो भनेर बुझ्ने र समयमै उपचार गर्न आम नागरिकलाई बुझाउन खाँचो छ ।’

नेपालमा मानसिक रोग विशेषज्ञ १५० जना र मनोबाद झण्डै ३० जना रहेका छन् । सबै सरकारी अस्पतालमा मानसिक रोग विशेषज्ञको भने दरबन्दी छैन । विद्यालय र कलेजका पाठ्यपुस्तकमा समेत मानसिक रोगका बारेमा उल्लेख हुनुपर्ने यस क्षेत्रमा कार्यरत विज्ञले माग गर्दै आएका छन् ।