प्रदेश 2

हत्या आरोपमा छ जना पक्राउ, १० काे खाेजी

लहान। सप्तरी प्रहरीले दुई छुट्टाछुट्टै हत्याको आरोपमा दुई महिलासहित छ जनालाई पक्राउ गरी कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाएको छ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार राजविराज नगरपालिका ६ की ४५ वर्षीया एकल महिलाको हत्यामा संलग्न रहेको आरोपमा दुई महिलासहित चार जनालाई पक्राउ गरी आइतबार कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाएको छ। प्रहरीले कार्तिक २ गते राति आशादेवी देवको हत्यामा संलग्न रहेको आरोपमा स्थानीय ४० वर्षीया मुन्नी साह, ३० वर्षीया चनरदेवी मेहतर, ३२ वर्षीय शंकर राउत र ३० वर्षीय सुरज मेहतरलाई पक्राउ गरी कर्तव्य ज्यानको मुद्दा चलाएको हो।

जिल्ला सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै जोडिएको घरमा एक्लै बस्दै आएकी देवको टाउकोमा इँटा प्रहार गरी हत्या गरेको अवस्थामा शव कार्तिक २ गते बिहान ओछ्यानमा फेला परेको थियो। मृतक देवको बलात्कारपछि हत्या भएको आशङ्काको आधारमा शवको पोष्टमार्टम धरानस्थित वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो।

प्रहरीले घटनास्थलमा बरामद भएको इँटा, मृतकको मोवाइल फोनको कल डिटेल्स र अन्य अनुसन्धानको आधारमा चार जनालाई पक्राउ गरी मुद्दा चलाएको र थप अनुसन्धान जारी रहेको जनाएको छ।

त्यस्तै, प्रहरीले युवक हत्यामा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाएको हो।

राजविराज १ मा बस्दै आएका २१ वर्षीय मृतक प्रेमकुमार यादवका बाबु भन्नालाल यादवको किटानी जाहेरीका आधारमा घटनामा संलग्नमध्ये राजविराज ११ का २२ वर्षीय मिथलेशकुमार यादव र २० वर्षीय सरोजकुमार यादवलाई पक्राउ गरी कार्तिक ९ गते मुद्दा चलाइएको र फरार रहेका अन्य १० जनाको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

पुरानो रिसइवीको आधारमा पछिल्लो असोज २३ गते राजविराज २ स्थित पिसजोन बोर्डिङ् स्कूल अगाडि बाटोमा हिंडिरहेका बेला बिहान ९ बजेतिर घेरा हाली १२ जनाको समुहले धारिलो हतियार प्रहार गरी गम्भिर घाइते बनाएको बाबु भन्नालालले बताए। राजविराज ११ का जयप्रकाश यादव, आनन्दकुमार यादव, नागेश्वर यादव, राजाराम यादव, ओमप्रकाश यादव, संजय यादव, मिथलेश यादव र सरोज यादवलगायतको समुहको आक्रमणबाट गम्भिर घाइते भएका प्रेमको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा असोज २४ गते राति निधन भएको थियो।