काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे बुझ्न अध्यक्ष प्रचण्ड सोमबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।
अध्यक्ष प्रचण्डले ओलीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । छातिमा समस्या देखिएपछि सोमबार बिहान प्रधानमन्त्री ओलीलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो ।
प्रधानमन्त्री ओलीलाई रुघाखोकी लागेको थियो । ज्वरो निको भएपनि खोकी लागेका कारण थप उपचारका लागि अस्पताल लगिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार कुन्दन अर्यालले लोकान्तरलाई बताए । उनले भने, ‘डाक्टरहरुकै सल्लाहमा अस्पताल लगेका हौं, स्वास्थ्य अवस्था सामान्य नै छ ।’
मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको रोग प्रतिरोधात्मक क्षमतामा कमी आएको र रुघाखोकीका कारण छातीमा संक्रमण बढेको चिकित्सकले बताएका छन् ।
यसैबीच अस्पतालले बिहान नौ बजे पत्रकार सम्मेलन गरेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी दिने भएको छ ।