समाचार

मलेसियाका मानव संशाधन मन्त्री काठमाडौं, शून्य लागतमा नेपाली श्रमिक लैजाने सहमति गरिने

काठमाडौं । मलेसियाका मानव संशाधन मन्त्री एम. कुलासेगरन आइतबार राती ११ बजेपछि मात्रै काठमाडौं आइपुगेका छन्।

नेपाल र मलेसिया बीच शुन्य लागतमा नेपाल श्रमिक लैजाने सहमतिपत्रमा हस्ताक्षर गर्न नेपाल आएका  उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दहालले स्वागत गरेका हुन्।

उनी सोमबार बिहान १० बजेबाट सुरु हुने मन्त्री स्तरिय बैठकमा सहभागी भइ समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। यो समझदारीसँगै रोजगारीको प्रमुख गन्तव्य मलेसियामा नेपाली कामदार निशुल्क जान पाउने भएका छन्।

६ महिनायता रोकिएको नेपाली कामदारको मलेसिया यात्रा अब खुल्ने तय भएको हो। आइतबार बसेको मन्त्रिपरिषद बैठकले दुई देशबीचको श्रम समझदारीमा हस्ताक्षर गर्ने अख्तियारी मन्त्री बिष्टलाई प्रदान गर्ने निर्णय पनि गरेको छ।

त्यसअघि साढे आठ बजे  पशुपतिनाथको दर्शन गर्न जाने कार्यक्रम तय भएको श्रम मन्त्रालयले जनाएको छ। यस्तै मन्त्री कुलासेगरनले दिउँसो पाटन दरबार र नारायणहिटी दरबार संग्राहलयको अवलोकन  कार्यक्रम समेत तय भएको छ।