पत्रपत्रिका

संघीयता कार्यान्वयनसँगै बढे रातो पासपोर्ट प्रयोगकर्ता

काठमाडौं । मुलुकमा संघीयता कार्यान्वयन भएसँग कुटनीतिक राहदानी (रातो पासपोर्ट) को प्रयोग समेत बढेको छ।

तीन तहको निर्वाचनपछि जनप्रतिनिधि तथा मन्त्रीको संख्या बढेसँगै राहदानी विभागबाट कुटनीतिक राहदानी विगतको भन्दा धेरै जारी भएको छ। मेसिन रिडेबल पासपोर्ट(एमआरपी) लागू भएयता आठ वर्षको अवधिमा चार हजार ४०७ पटक कुटनीतिक राहदानी जारी भएको छ।

गत वर्ष राहदानी विभागले ५३७ वटा रातो पासपोर्ट जारी गरेको समाचार नयाँ पत्रिका दैनिकमा छ। यस वर्ष असोज मसान्तसम्म ५९७ वटा राहदानी जारी भइसकेको विभागका सूचना अधिकारी तीर्थराज अर्यालले जानकारी दिए। मन्त्री, सांसददेखि नगर प्रमुख र सरकारी कर्मचारीसम्मले रातो पासपोर्ट प्रयोग गर्दै आएका छन्।

स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनपछि जनप्रतिनिधिको संख्या बढेको र जनप्रतिनिधि तथा सरकारका पदाधिकारीबाट कुटनीतिक राहदानीका लागि विगतको भन्दा सिफारिस बढी आएको विभागका सूचना अधिकारी अर्यालले बताए।