खेलकुद

नेपालबाट पाकिस्तानलाई गोलको वर्षा (बधाई) !

काठमाडौँ । एएफसी १९ वर्षमुनिको (यू–१९) महिला च्याम्पियनसिप छनोटअन्तर्गत समूहको आज भएको अन्तिम खेलमा नेपालले पाकिस्तानलाई फराकिलो अन्तरले पराजित गरेको छ ।
थाइल्याण्डको चोनबुरी रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोलअन्तरले पराजित गर्दै जीत हात पारेको हो । खेल शुरुआतको दुई मिनेटमा नेपालकी मञ्जलीकुमारी योञ्जनले पहिलो गोल गर्दै खाता खोलिन् । खेलको पहिलो हाफको ३२औँ मिनेटमा सम्झना लावतीले दोस्रो र अलिसा जिम्बाले ३७ औँ मिनेटमा एक गोल थपिन् ।
खेलको पहिलो हाफसम्म ३–० गोलअन्तरले अगाडि रहेको नेपालले दोस्रो हाफमा ६ गोल थप्यो । खेलको ४८ औँ मिनेटमा पूजा रानाले हेडमार्फत गोल गरिन् भने त्यसको केही समयमा नै उनले पुनः अर्को गोल थपिन् । निशा थोकरले खेलको दोस्रो हाफमा ह्याट्रिक पूरा गरिन् । उनले खेलको ५७, ७४ र ८५औँ मिनेटमा तीन गोल गरेकी थिइन् । कप्तान सरु लिम्बूले ८९औँ मिनेटमा थप एक गोल गरेपछि नेपालले पाकिस्तानमाथि ९–० को सहज जीत हात पारेको थियो ।
आजै भएको समूहको अर्को अन्तिम खेलमा थाइल्याण्डले भारतलाई पराजित गरेमा नेपाल समूहको दोस्रो स्थानमा रहेर अन्तिम चरणमा छनोट हुनेछ । अहिलेसम्म थाइल्याण्ड ६ अङ्क जोड्दै अङ्क तालिकाको शीर्ष स्थानमा तथा समान अङ्क जोडेको नेपाल गोलअन्तरका आधारमा दोस्रो स्थानमा छन् । नेपालले समूह चरणको सबै खेल खेलिसकेको छ । छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् ।