समाचार

समाचार बनाउन गएका पत्रकारलाई निर्देशक शाहले गरेको दुर्व्यवहारप्रति महासंघको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । समाचार संकलनका क्रममा सगरमाथा टेलिभिजनका सम्वाददाता शिखा श्रेष्ठ र क्यामेरापर्सन अजय हाकुजुलाई यातायात व्यवस्था विभागका निर्देशक चन्द्र शाहले दुर्व्यवहार गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक प्रेस वक्तब्य जारी गर्दै नेपाल पत्रकार महासंघले समाचार संकलनका लागि कात्तिक ६ गते मिनभवनस्थित यातायात व्यवस्था विभाग पुगेका सञ्चारकर्मीद्वय श्रेष्ठ र हाकुजुलाई भाद्र १ गतेबाट लागू भएको मुलुकी संहिताको हवाला दिँदै र्सार्वजनिक सेवाको क्षेत्र र त्यहाँबाट दिइने सेवाका विषयमा समाचार बनाउन पूर्वअनुमति लिनुपर्ने भन्दै निर्देशक शाहले दुर्व्यवहार गर्दै धम्क्याएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्ष भएको जनाएको हो ।

“सार्वजनिक सेवाको क्षेत्रमा आमनागरिक र सेवाग्राहीको सहज पहुँच हुनुपर्नेमा विभागका जिम्मेवार पदमा बसेका जिम्मेवार अधिकारीबाटै पत्रकारलाई धम्की दिँदै समाचार संकलनमा अवरोध खडा गरिएको यो घटनाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै पदीय मर्यादाविपरीतको कार्य भएको महासंघको ठहर छ ।, महासचिव रमेश विष्ट संंघद्वारा जारी विज्ञप्तीमा भनिएको छ, महासंघ प्रेसलाई हतोत्साहित र कमजोर बनाउन खोज्ने यस्ता कार्यको कडा भर्त्सना गर्दछ ।”

साथै महासंघले प्रेसको संवैधानिक अधिकारको सम्मान गरी निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।