समाचार

पुनःनिर्माणसम्बन्धी जानकारी दिन प्रदर्शनी

काठमाडौँ । भूकम्पपछिको पुनःनिर्माणमा नवीनतम् प्रविधिको प्रयोगबारे जानकारी गराउने उद्देश्यले मङ्सिर ६ देखि ९ गतेसम्म भवन तथा निर्माणसम्बन्धी बृहत् प्रदर्शनी हुने भएको छ ।

नेपाल युवा निर्माण व्यवसायी परिसङ्घले प्रदर्शनी आयोजना गर्न लागेको आज यहाँ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनीका क्रममा भूकम्पीय जोखिम न्यूनीकरणका लागि कस्ता घर भवन बनाउने भन्ने विषयमा जानकारी दिन दैनिक सेमिनारसमेत गरिने परिसङ्घका अध्यक्ष आनन्द सुवेदीले बताए ।

सुरक्षित र वातावरणमैत्री घर भवनको निर्माणका लागि दैनिक ५० जना इञ्जिनीयरले परामर्श दिनेछन् । निर्माणसम्बन्धी परामर्शको शुल्कसमेत नलिइने जनाइएको छ । भूकम्पले भत्किएका सम्पदालाई पुरानै स्वरुपमा कसरी बनाउन सकिन्छ भन्ने जानकारी समेत सो अवसरमा गराइनेछ ।

सम्पदा संरक्षणको तरिकाबारे पनि कार्यक्रममा ज्ञान, सीप दिइनेछ । सम्पदा पुनःनिर्माणमा नेपालको मौलिक वास्तुकलाका बारेमा छलफल गरिने परिसङ्घका महासचिव वसन्त चन्दले जानकारी दिए । भृकुटीमण्डपमा गरिने भवन तथा निर्माण सामग्रीको बृहत् प्रदर्शनीमा २०० कक्ष राखिने उनले सुनाए । चार दिनसम्म बिहान १० बजेदेखि बेलुकी ६ बजेसम्म मेला अवलोकन गर्न सकिने जनाइएको छ ।

कार्यक्रमको सहआयोजकमा नेपाल इञ्जिनीयर्स एसोसिएसन, सोसाइटी अफ नेप्लीज आर्किटेक्चर्स (सोना), सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इञ्जिनीयरिङ फर्म (स्काइफ) र ब्राण्ड वर्थ प्रा लि रहेका छन् ।