पर्यटन/संस्कृति

पर्यटक भित्र्याउन होटलमा दक्ष जनशक्ति आवश्यक

काठमाडौँ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्यसहित सरकारले सञ्चालन गर्न लागेको नेपाल भ्रमण वर्ष सफल पार्न दक्ष र सीपयुक्त जनशक्ति आवश्यक पर्ने सम्बद्ध विज्ञले औँल्याए ।

ग्लोबल एकेडेमी अफ टुरिज्म एण्ड हस्पिटालिटी एजुकेशन (गेट कलेज) को आठौँ दीक्षान्त समारोहमा उनीहरूले पर्यटन क्षेत्रमा व्यापक रोजगारीका अवसर सिर्जना हुँदै गए पनि अझै दक्ष जनशक्तिको अभाव खड्किएको बताए । अन्तरराष्ट्रिय पर्यटन शिक्षाविद् डा. बर्न भान वाल्विकले भर्खरै लोन्ली प्लानेटले काठमाडौँलाई विश्वकै घुम्नैपर्ने शहरभित्र समेटेको, हिल्टन ग्रुपले विश्वभरि नै आफ्ना नयाँ होटल खोलिरहेको र हिल्टनजस्ता अरू थुप्रै पाँचतारे होटल नेपालमा पनि खुल्ने भएकाले पर्याप्त दक्ष जनशक्तिको खाँचो औँल्याए ।

स्विस होटल एशोसिएशन होटलरी स्विसका सञ्चार तथा बजारीकरण प्रमुख प्याट्रिक स्कोनबर्गले विश्वभरि नै पर्यटनसँग सम्बन्धित दक्ष जनशक्तिको माग बढ्दै गएका अवस्थामा यहाँ उत्पादित दक्ष जनशक्तिले स्वदेशमा मात्र नभई विदेशमा समेत उत्तिकै अवसर पाउने बताए ।नेपालका लागि स्विट्जरल्याण्डका राजदूत एजिलावेथ भान कप्लरले नेपालको पर्यटन र समग्र विकासका लागि आफ्नो देशले ६० को दशकदेखि नै सहयोग गर्दै आउनाका साथै गेट कलेजले पनि नेपालमा अन्तरराष्ट्रियस्तरको पर्यटन शिक्षा प्रदान गर्दै आएको जानकारी दिए ।
गेट कलेजका प्रमुख कार्यकारी अधिकृत खेम लकाईंले विश्व पर्यटन बजारमा प्रतिस्पर्धात्मक रूपमा उभ्याउन सक्ने गरी आफूहरूले जनशक्ति उत्पादनमा जोड दिँदै आएको बताए । दीक्षान्त समारोहमा १५औँ र १६औँ ब्याचका ९७ विद्यार्थी दीक्षित भएको कलेजले जनाएको छ । कलेजमा हालसम्म नेपालबाहेक १९ मुलुकबाट करीब ४०० विद्यार्थीले होटल व्यवस्थापनको स्नातक तह अध्ययन गरिसकेका छन् ।