समाचार

१ नम्बरका मुख्यमन्त्री भन्छन्ः प्रदेश सरकार गम्भीर एवं संवेदनशील छ

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विकास र समृद्धिका साझा सङ्कल्प पूरा गर्न प्रदेश सरकार दत्तचित भएर लागिरहेको बताएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा आज यहाँ आयोजित समुदाय–प्रहरी साझेदारी कार्यक्रमको शुभारम्भ गर्दै उहाँले आफ्ना नीति तथा कार्यक्रमको माध्यमबाट समृद्ध नेपाल र सुखी नेपाली बनाउने बाटोमा प्रदेश सरकार अग्रसर भएको बताए । सुशासन र शान्ति कायम गरेर विकास र समृद्धि ल्याउन उनले जोड दिए ।

मुख्यमन्त्री राईले भ्रष्टाचारमुक्त र सुशासनयुक्त प्रदेश सरकारको चाहनालाई पूरा गर्न जनताको जिम्मेवारीसमेत रहेको भन्दै समुदाय–प्रहरी साझेदारी कार्यक्रमको पूर्णरुपमा कार्यान्वय हुने विश्वास दिलाए ।

“अपराध र हिंसा रोक्न समुदाय र प्रहरी साझेदारी कार्यक्रमले बल पु¥याउँछ,” उनले भने, “प्रदेश सरकार गम्भीर एवं संवेदनशील छ ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले समुदाय र प्रहरी साझेदारी कार्यक्रमबाट शान्तिसुरक्षा र सुशासन कायम गर्न मद्दत पुग्ने बताए । सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रहरी र समुदाय एक अर्काको पूरक भएको चर्चा गरे। सो अवसरमा प्रदेश प्रहरी प्रमुख केदार रिजालले अपराधको बेलैमा पहिचान गरी समाधानको उपाय खोज्न समुदाय र प्रहरी साझेदारी कार्यक्रम फलदायी हुने बताए ।