राजनीति

शान्तीपूर्ण र सुरक्षित समाज बनाउन प्रहरीले सलामयोग्य भूमिका खेलेको छः गृहमन्त्री बादल

काठमाडौँ । गृहमन्त्री राम बहादुर थापा बादलले गुण्डा, ठग र तस्करलाई नियन्त्रण नगरेसम्म मुलुकमा समृद्धि नआउने दाबी गरेका छन् । प्रहरी प्रधान कार्यालयले आईतबार आयोजना गरेको समुदाय प्रहरी कार्यक्रममा बोल्दैँ गृहमन्त्री थापाले समृद्ध नेपाल र सुखी नेपाली अभियानलाई साकार पार्न समुदायमा हुने सबै खाले अपराधलाई निमिटान्न पार्नुपर्ने बताएका हुन् ।

‘गुण्डा, ठग, र मानव तस्करलाई समात्नु अहिलेको नितान्त आवश्यकता हो । त्यसका लागि प्रहरी र समुदायबीच सुमधुर सम्बन्ध कायम हुनुपर्दछ, गृहमन्त्री थापाले भने, त्यसका लागि प्रहरी र समुदायबीच हातेमालो हुनुपर्दछ ।’

सरकारले भन्दै आएको सुखी नेपाली समृद्ध नेपालको लक्ष्य प्राप्तीका लागि पनि शान्ति स्थापना हुनु जरुरी रहेको थापाको भनाई थियो । शान्तीपूर्ण र सुरक्षित समाजको निर्माणमा प्रहरीले खेलेको भूमिकाको प्रशंसा गर्दै गृहमन्त्री थापाले शान्ती सुव्यवस्थाको मुख्य बाधक अपराधी नै भएको बताए ।