मनोरञ्जन

बृहत चौथो मठैराज साङ्गीतीक महोत्सव हुदै, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने

काठमाडौँ । सूदुरपश्चिम प्रदेशको बैतडी जिल्लाको विकटमा अवस्थित मठैराजमा यही कार्तिक १८ गते देखि बृहत चौँथो ऐतिहासिक मठैराज साङ्गीतीक महोत्सव आयोजना हुने भएको छ । विगतबर्षहरुझैँ यस बर्षपनि मठैराज सांस्कृतिक युवा क्लबको आयोजनामा हुन लागेको महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

संस्कृति सभ्यताको जननी हो भन्ने मूल नाराका साथ हुन लागेको बृहत महोत्सवमा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने महोत्सव मूल आयोजक समितिका अध्यक्ष महेश राज पन्तले सूर्यखबरलाई बताए । कार्तिक १८ गतेदेखि २३ गतेसम्म हुने महोत्सवमा गायक, गीतकार, सर्जक, कमेडियन अर्थात बहुमुखी प्रतिभाका धनि भानुभक्त जोशी, चर्चित गायिका पुष्पा बोहरा, ॠतु भट्टराई, जगदीश घरेडी, लोकेन्द्र नाथ, मोडेल हिमानी भाट, जितसिंह बोहरा, चर्चित देउडा गायक महेश राज पन्त, चर्चित डोटेली कमेडियन राकेश भट्ट राजन, स्ट्यान्ड अप कमेडियन हेम राज जोेशी ट्याकटुक लगायत अन्य थुप्रै कलाकारहरुको बेजोड प्रस्तुती र स्थानिय छलिया, भेषभूषाको बिशेष प्रदर्शन गरिने महोत्सव मूल आयोजक समितिका संयोजक शंकर दत्त पन्तले बताए ।

महोत्सवको अनलाईन मिडिया पार्टनर सूदुर समाचार रहेको छ भने रेडियो मिडिया पार्टनरमा सामुदायिक रेडियो सौँगात एफएम १०३.६ मेगाहर्ज, रेडियो निङ्गलासैनी ९४ मेगाहर्ज र रेडियो सेभेन स्टार ९९.२ मेगाहर्ज रहेका छन् । महोत्सवको नि:शुल्क अवलोकन गर्न सकिने कार्यक्रम संयोजक पन्तले जानकारी दिए ।

बैतडीमै पहिलो पटक महोत्सवको आयोजना गरेका महेश राज पन्त र मठैराज युवा क्लबले स्थानिय कलासंस्कृतिको संरक्षण, सम्वद्र्धनमा अहोरात्र खटिएर अतुलनीय भूमिका निर्वाह गर्दै आएका छन् । मठैराज युवा क्लबले तीज लगायत अन्य चाडपर्वहरुमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्दै आएको छ ।