पु.समाचार

काङ्ग्रेस महासमिति बैठकको तयारी शुरु

काठमाडौँ । नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिले मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा आयोजना हुने महासमितिको बैठकको तयारी शुरु गरेको जनाएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको संयुक्त बैठकले महासमिति बैठक काठमाडौँको भृकुटीमण्डपमा गर्ने निर्णय गरेको छ ।

काङ्ग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापतिको संयोजकत्वमा रहेको स्थानीय व्यवस्थापन समितिलाई महासमितिको बैठक र २०७५ कात्तिक १६ गते पार्टीको केन्द्रीय कार्यालयमा हुने जलपान समारोहलाई भव्य र व्यवस्थित रुपमा सम्पन्न गराउने सन्दर्भमा सभापति देउवाले निर्देशन दिएका पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

स्थानीय व्यवस्थापन तयारी समिति र उपत्यकाका तीनै जिल्ला कार्यसमितिको बैठक पनि आजै बस्यो । बैठकले महासमितिको बैठक र चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रम व्यवस्थित र भव्य बनाउनका लागि तीनै जिल्लालाई परिचालन गर्ने निर्णय गरेको छ ।

महासमितिको बैठक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गर्ने सन्दर्भमा स्थानीय व्यवस्थापन समितिको अर्को बैठक कात्तिक १२ गते सोमबार अपरान्ह २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने काङ्ग्रेसले जनाएको छ । गत भदौ ९ गते बसेको बैठकको काङ्ग्रेस केन्द्रीय समितिको निर्णयअनुसार मङ्सिरमा महासमिति बैठक आयोजना गरिएको हो ।