समाचार

समुदाय–प्रहरी साझेदारी अवधारणामा हस्ताक्षर

काठमाडौँ । काठमाडौँ महानगरपालिका र महानगरीय प्रहरी कार्यालयबीच समुदाय–प्रहरी साझेदारीसम्बन्धी अवधारणा निर्माण गरी कार्यान्वयन गर्ने विषयमा सहमति भएको छ ।

महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य र महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापाबीच शुक्रबार समझदारीपत्रमा हस्ताक्षर भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त अवधारणमा अपराध रोकथाम, सामाजिक विकृति विसङ्गतिविरुद्ध जनचेतना र समग्रमा सामुदायिक सुरक्षालाई अभिवृद्धि गर्ने उद्देश्य राखिएको छ ।

सोही विषयमा शुक्रबार नागार्जुन नगरपालिका र महानगरीय प्रहरी परिसरबीच हस्ताक्षर भएको छ । सुरक्षा विकासको पूर्वशर्त हो भने विकास सुरक्षित समाजको आधार हो भन्ने सामुदायिक प्रहरीको सोचअनुरूप विकास, सेवा प्रवाह र सुरक्षालाई एकीकृतरूपमा उक्त अवधारणालाई अगाडि बढाउने लक्ष्य राखेको प्रहरीले जनाएको छ ।