अन्तर्राष्ट्रिय

सिरिया समस्याको राजनीतिक समाधान खोज्नुपर्छः सुरक्षा परिषद

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले सिरियाको समस्या राजनीतिकरुपमा समाधान गर्नुपर्नेमा सहमत भएको छ ।

उक्त परिषदका सबै सदस्य यस विषयमा सहमत भएको समाचारमा जनाइएको छ । तर पनि त्यो राजनीतिक समाधानको मोडल कस्तो हुने र त्यसका लागि आवश्यक पर्ने नयाँ संविधान निर्माणका लागि कस्तो मस्यौदा गर्ने भन्ने बारेमा भने एकमत नभएको बताइएको छ ।

सुरक्षा परिषद्को बैठकपछि एकजना सदस्यले भनेका छन् कि सिरियाको समस्याको राजनीतिक समाधान खोज्नुपर्छ भन्नेमा त सबै सहमत छन् तर त्यो समस्या समाधानको नमूना कस्तो हुने भन्ने विषयमा भने एकमत हुनसकेको छैन ।

शुक्रबारको परिषद् बैठकमा यस विषयमा सिरियाका लागि संयुक्त राष्ट्रसंघीय विशेष प्रतिनिधि स्टेफन डि मिस्तुराले सो विषयमा जानकारी दिएका हुन् ।

सो विषयमा जानकारी दिँदै उनले भने, समस्या समाधानका लागि सिरियाको सरकारसँग पनि कुराकानी भएको छ र राजनीतिकरुपमा समस्या हलगर्ने बारेमा मैले कुरा गरेको छु ।

विशेषदूत मिस्तुराले हालैमात्र सिरियाली विदेशमन्त्री वालिद मुआलिमसँग कुराकानी गरेका थिए । त्यस भेटवार्ताको बारेमा उनले शुक्रबार भएको सुरक्षा परिषदको बैठकमा जानकारी गराएका थिए ।

त्यो संविधान मस्यौदाका लागि सिरियाली सरकारले सरकारी प्रतिनिधि, सिरियाली विपक्षी राजनीतिक दलहरु र नागरिक समाजका तर्फबाट प्रतिनिधित्व गराइनुपर्ने मोडलमा कुराकानी गरेको विशेषदूत मिस्तुराले जानकरी दिए ।

त्यस अनुसार कामगर्दा सरकार, विपक्षी दलहरु र नागरिक समाजका तर्फबाट सबैका ५० जना गरी १५० जनाको समूहले काम गर्नसक्ने अनुमान गरिएको उनले जानकारी दिए ।

सिरियामा विगत लामो समयदेखि गृहयुद्ध जारी छ । यसका कारण लाखौँ नागरिकको ज्यान गएको छ भने अरु लाखौँ जना घरबारबिहीन भएर विदेशी भूमिमा शरणार्थीका रुपमा बसेका छन् ।

यो समस्या संसारकै एक टाउको दुखाइको विषय भएको छ । सिरियाली समस्या कसरी सममाधान गर्ने भन्ने विषयमा अहिलेसम्म संयुक्त राष्ट्रसंघले पनि विभिन्न मोडेलमा काम गरिरहेको बताइएको छ ।

तर त्यसको ठोस समाधानका लागि अहिलेसम्म कुनै उपाय भने निकाल्न संयुक्त राष्टसंघ पनि सफल हुन सकेको छैन । -एजेन्सी