प्रदेश 2

चिनीको बिक्री बन्द, पर्या यस्तो आपत !

लहान । साल्ट्र ट्रेडिङ कर्पोरेशन लहान शाखाले चिनीको बिक्री वितरण बन्द गरेपछि उपभोक्ता मारमा परेका छन् । सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै चाडपर्वकै मुखमा उक्त शाखाले चिनीको बिक्री वितरण बन्द गर्दा उपभोक्ता बजारबाट चर्को मूल्यमा चिनी खरीद गर्न बाध्य भएका हुन् ।

प्रत्येक वर्ष दशैँ, तिहार र छठपर्वलाई लक्षित गरी सहुलियत दरमा चिनी र नूनको बिक्री वितरण गर्दै आएकामा उक्त शाखाले यस वर्ष सरकारले चिनीको मूल्य निर्धारण गर्न नसकेको भन्दै सहुलियत दरमा चिनीको बिक्री वितरण गर्ने कार्यसमेत बन्द गरिएको जनाएको छ ।

सरकारले भारतबाट चिनी ल्याउन प्रतिबन्ध लगाएको र स्वदेशी चिनीको मूल्यसमेत निर्धारण गर्न नसक्दा बजारमा चिनीको कालोबजारीसमेत शुरु भएको उपभोक्ता बताउँछन् ।

व्यापारीले चिनीको कृतिम आभाव देखाउँदै चर्को मूल्यमा चिनी बिक्री गर्न थालेकोे स्थानीयवासी सुमित साहले बताए । बजारमा व्यापारीले मनपरि मूल्य बढाएर चिनी बिक्री गर्दै आएको उपभोक्ताको गुनासो छ । चिनीको मूल्य निर्धारण नभएसम्म बिक्री वितरण गर्न नसकिएको उक्त शाखाका प्रमुख जीतेन्द्र साहले जानकारी दिए ।