काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको (नेकपा)ले विजयादशमी, दीपावली, नेपाल सम्वत् र छठका अवसरमा शनिबार चियापान कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा सहभागीताका लागि नेकपाले सार्वजनिक रुपमा निम्ता गरेको छ ।
पार्टीका महासचिव विष्णु पौडेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा राज्यका सबै पक्ष, संवैधानिक निकाय, राजनीतिक दल, नागरिक समाज, कूटनीतिक क्षेत्र तथा विकासका साझेदार पक्षबीचमा एकता र आपसी विश्वास अभिवृद्धि गर्ने हुँदा चियापानमा सहभागी हुन सबैलाई आग्रह गरिएको छ । विज्ञप्तिमा नयाँ संविधान लागू भएर तीनै तहको निर्वाचन सम्पन्न भएपछि मुलुक सम्मृद्धिको महाअभियानतर्फ राष्ट्रिय अठोटमा हिँडिरहेको अवस्थामा सबै पक्षको सहयोगको अपेक्षा गरिएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा अपराह्न १२ बजेदेखि ५ बजेसम्म आयोजना गरिने कार्यक्रममा पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’का नामबाट निमन्त्रणा गरिएको छ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले पार्टी एकतापछि पहिलोपटक भृकुटीमण्डपस्थित बगैँचामा गर्न लागेको चियापानमा पार्टीले करीब ५० हजारलाई निम्ता गरेको छ भने करीब ३५ हजार सहभागी हुने अनुमान गरिएको छ । कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि ३०० स्वयंसेवक परिचालन गरिने छ ।