समाचार

राष्ट्रको समृद्धिका लागि एकाकार आवश्यक छ: मन्त्री अधिकारी

पोखरा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले राष्ट्रको समृद्धिका लागि एकाकार बन्नुपर्ने बताए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) कास्की निर्वाचन क्षेत्र नं २ द्वारा आज पोखरामा विजयादशमी, दीपावलीलगायतका विभिन्न चाडपर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले संस्कृति तथा पर्वले एक आपसमा पुनर्मिलन र मेलमिलापको वातावरण सिर्जना गर्ने बताए ।

सङ्घीयताको मर्मअनुसार तीनवटै तहका कानून निर्माणमा वर्तमान सरकार लागि परेको बताउँदै उनले जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमबाट काम अघि बढाउन लागिएको उल्लेख गरे । नेपाल वायुसेवा निगमलाई अन्तर्राष्ट्रियस्तरमा नै प्रतिष्पर्धा गर्ने सक्ने किसिमको बनाउन सरकार लागि परेको उल्लेख गर्दै उनले यस बीचमा अन्तर्राष्ट्रिय विमानस्थल २४सैँ घण्टा सञ्चालनमा ल्याई सकिएको बताए ।

तोकिएकै समयभन्दा अघि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने बताउँदै मन्त्री अधिकारीले गौतमबुद्ध विमानस्थल आगामी छ महीनाभित्रमा सञ्चालनमा आउने जानकारी दिए । अभाव एवं गरीबीपन हटाउँदै समृद्धितर्फ अघि बढाउन सरकार लागेकोमा जोड दिँदै उनले विकासका लागि सबै एकाकार हुनुको विकल्प नभएको बताए ।

दिगो विकासले लोकप्रियता हासिल गर्ने लक्ष्य रहेको बताउँदै उनले यस बीचमा १५० कानून, ३०० संशोधनका साथै प्रदेश र स्थानीय तहलाई बलियो बनाउनेतर्फ सरकार उन्मुख बनेको उल्लेख गरे । नेकपाका केन्द्रीय सदस्य राजकाजी गुरुङले निर्वाचनका अवसरमा पार्टीले गरेका प्रतिबद्धता पूरा गर्न सरकार कटिबद्ध रहेको बताउँदै समृद्ध नेपाल सुखी नेपाली अभियानमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिए ।

नेकपा कास्की संयन्त्र सदस्य एवं प्रदेशसभा सदस्य कृष्णबहादुर थापा, संयन्त्र सदस्यद्वय युवराज पौडेलले र विश्वप्रकाश लामिछानेले निर्वाचनमा व्यक्त प्रतिबद्धताअनुसार सरकारले काम गर्नुपर्ने धारणा राखे ।