खेलकुद

यू–१९ महिला च्याम्पियनसिपमा नेपालले भारतलाई २–० ले हरायो

काठमाडौं । थाइल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले समूहको आफ्नो दोस्रो खेलमा पहिलो जित निकालेको छ ।

पहिलो खेलमा घरेलु टोली थाइल्याण्डसँग ३–० ले हारेको नेपालले दोस्रो खेलमा भारतलाई २–० को हराएको हो । छनोटको दोस्रो चरणमा स्थान बनाउन ‘गर या मर’को अवस्थामा रहेको यस खेलमा नेपालका लागि दुवै गोल स्ट्राइकर रेखा पौडेलले गरिन् ।

थाइल्याण्डको चोनबुरी रंगशालामा जारी खेलको पहिलो हाफमा गोलरहित बराबरी खेले पनि ५९औं मिनेटमा स्ट्राइकर रेखा पौडेलले गोल गर्दै टिमलाई अग्रता दिलाएकी छन् । रक्षात्मक देखिएको भारतको अफसाइड ट्र्याप तोड्दै उनले गोल गर्न सफल भइन् ।

८८ औं मिनेटमा पनि रेखाले नै गोल गर्न सफल भइन् । भारतीय गोलरक्षक अगाडि बढेको अवस्थामा शानदार चीप शटमार्फत उनले गोल गरेकी हुन् ।

जितसँगै नेपालको एएफसी च्याम्पियनसिपमा छनोट हुने सम्भावना जीवितै बनेको छ । नेपालको २ खेलबाट ३ अंक भएको छ । समान एक जित र एक हारको नतिजा निकालेको भारतको पनि तीन अंक नै छ । समूहको पहिलो खेलमा भारतले पाकिस्तानबिरुद्ध १८–० ले हराएको थियो ।

६ समूहबाट एक एक समूह विजेता र समूहको उत्कृष्ट दुई उपविजेता टोलीले दोस्रो चरणमा प्रवेश पाउनेछन् ।