आर्थिक

वैदेशिक रोजगार विभागका २५ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर (नामावली सहित)

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका २५ जना कर्मचारीसहित २७ जनाविरुद्ध बिशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नक्कली कागजात बनाएर बिना भिसा कुवेतको श्रम स्वीकृति दिएको अभियोगमा अख्तियारले विभागको काठमाडौं कार्यालयका २५ जना कर्मचारी र २ जना विचौलियाविरुद्ध शुक्रबार भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

उनीहरुले रोजगारीका लागि कुवेत जान चाहने १८४ जना महिलालाई भिसाविनै श्रम स्वीकृति दिएको पाइएको अख्तियारका प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

उनका अनुसार २५ अगष्ट २०१७ देखि २५ अक्टोबर २०१७ सम्म श्रम स्वीकृति प्रदान गरिएकामध्ये १८४ महिलालाई नियम उल्लघंन गरी गलत बनाएको पाइएको छ ।

गलत कागजातका आधारमा श्रम स्वीकृति लिएर कुवेत गएका ती महिला कुवेत पुगेपछि शोषणमा परेका थिए । अख्यितारले विभागका शाखा अधिकृतहरु हरिप्रसाद देवकोटा, दीपकुमार आचार्य, गणेश विक्रम शाह, पवित्रा श्रेष्ठ, दिनेश कुमार राई रामप्रसाद ओलीविरुद्ध आरोप पत्र दायर गरेको छ ।

त्यस्तै नायव सुव्बाहरु अमरराज जोशी, विन्दु घिमिरे, रघुनाथ केसी, योगेन्ऽ खत्री, विष्णुहरि निरौला, दिलबहादुर मदन गिरी, खगेन्ऽ पोखरेल, लक्ष्मीदेवी भुसाल, नगेन्द्रप्रसाद गौतम, हेमराज पाण्डे, कर्णबहादुर नेपाली, केदार घिमिरे, र केशवराज ढुंगानालाई पनि प्रतिवादी बनाइएको छ ।

कम्प्युटर अपरेटरहरु चक्रबहादुर पराजुली, अमर महरा, डम्ब बहादुर विश्वकर्मा, राजकुमार शाही र धनवीरसिंह भाटविरुद्ध पनि आरोप पत्र दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिए ।

यस्तै गलत कागजात बनाएर श्रम स्वीकृति दिलाउन भूमिका खेल्ने बिचौलियाहरु राजिवकुमार पञ्जियार र विकास थापालाई पनि सहयोगी मतियारको रुपमा मुद्दा दायर गरिएको छ । उनीहरुले व्यक्तिगत स्वार्थका लागि मानवीय सुुरक्षाको समेत ख्याल नगरी गलत कागजात बनाएर वैदेशिक रोजगार ऐन, २०६४ विपरीत काम गरेको अख्तियारको ठहर छ ।