खेलकुद

पीपीएल : घरेलु टोली पोखराको विजयी शुरुवात, विराटनगर पराजित

पोखरा । घरेलु टोली पोखरा पल्टनले पर्यटकीय नगरी पोखरामा आजबाट शुरु भएको पोखरा प्रिमियर लिग (पीपीएल) टी–२० क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ । पोखराले विराटनगरलाई ५८ रनले पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

पोखरा पल्टनले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रनमात्र बनाउन सक्यो । मध्यम शुरुवात गरेको विराटनगरका राजु रिजालले सर्वाधिक ३० रन बनाए । विराटनगरले दोस्रो ओभरको चौथो बलमै पहिलो विकेटको रुपमा सुनिल धमलालाई ११ रनमा गुमाएको थियो । त्यसपछि तेस्रो ओभरको तेस्रो बलमा प्रदीप ऐरी १० रनमा आउट भए ।

पाँचौ ओभरको अन्तिम बलमा जितेन्द्र सिंह ठकुरी शाहव आलमको बलमा आरिफ शेखबाट क्याच आउट भए । पुष्प थापाले ३० रन बनाए । एन्टन एन्ड्रियुले १४ रन बनाउदा सन्दिप लामिछाने १४ रनमा नटआउट रहे । राजेश पुलामी ७ रनमा आउट भए । पोखराका ललित नारायण राजवंशीले ३ विकेट लिदा मेहबुव आलम, कृष्णा कार्की, शरद भेषवकार, विक्रम भुषाल र रसिद खानले समान १ विकेट लिन सफल भए ।

यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १ सय ९७ रन बनाएको थियो । राम्रो शुरुवात गरेको पोखराका लागि ओपनर कुशल भुर्तेल र मोहम्मद आरिफ शेखले ५३ रनको साझेदारी गरेका थिए । कुशल सन्दिपको बलमा ३८ रनमा आउट भए । २६ बलमा ३८ रन जोड्ने क्रममा कुशलले ५ चौका र २ छक्का प्रहार गरे । अर्का ओपनर मोहम्मद आरिफ शेख ५२ रनमा शाहव आलमको बलमा प्रदीप ऐरीबाट क्याच आउट भए ।

आसिफ र रवि इन्दर सिंहले दोस्रो विकेटको लागि ९४ रनको साझेदारी गरे । भारतीय खेलाडी रवि इन्दर सिंह ४४ रनमा आउट भए । आक्रमक पारी खेलेका विनोद भन्डरी रनमा नटआउट रहे । भन्डरीले ११ बलमा ५ छक्का र २ चौकाको मद्दतमा ४१ रन बनाउदा कप्तान शरद भेषवाकर ७ रनमा नटआउट रहे । विराटनगरका सन्दिप लामिछानेले २ विकेट लिए । शाहव आलमले एक विकेट लिए ।

पीपीएल अन्तर्गत शनिबार २ खेल हुँदैछ । पहिलो खेलमा पारस खड्को कप्तानीमा रहेको चितवन राइनोज र सोमपाल कामीको बुटवल ब्लास्टर्सबीच खेल हुनेछ । दोस्रो खेलमा ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं रोयल्स र दीपेन्द्रसिंह ऐरीको धनगढी ब्लुजबीच खेल हुनेछ ।