प्रदेश 2

मुखिया टोल खुला दिसामुक्त बन्ने तयारीमा

लहान । सिरहाको दक्षिणवर्ती भगवानपुर गाउँपालिका–२ स्थित मुखिया टोलमा घरघरमा चर्पी निर्माण भएपछि अहिले मुखिया टोलका बासिन्दाले खुला ठाउँमा दिसापिसाब गर्न छोडेका छन् । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिको टोलीले मुखिया बस्तीको स्थलगत अनुगमनपछि पूर्ण खुला दिसामुक्त गाउँ बन्ने तयारीमा छ । यसअघि बाँसघारी, झाडी र पोखरीको डिल लगायतका ठाउँमा खुला दिसापिसाब गरिन्थ्यो ।

बस्ती अनुगमनमा जिल्ला समन्वय समिति सिरहाका उपप्रमुख सरोज यादव, सिरहा रेडक्रसका सभापति राजदेव यादव, महामन्त्री राजदेव ठाकुर, लहानस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका भैयालाल योञ्जन, अभियानकर्ता अशोक यादव, प्रकाश महतो, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य देवकुमार यादव र पत्रकार दिनेश्वरप्रसाद गुप्ता लगायतका सहभागी थिए ।

टोल निगरानी समितिका संयोजक धनिकलाल मुखियाका अनुसार बस्तीका अधिकांश मानिस वैदेशिक रोजगारीमा रहेकाले त्यसको प्रभाव बस्तीमा समेत परेको हो । “विदेशको वातावरणमा काम गरेका युवा गाउँ फर्किएपछि त्यसको सिको गर्ने प्रयास गरेका छन्”, मुखियाले भने ।

गाउँबाट बिहान वा जुनसुकै समयमा खुलारुपले दिसा गर्न बाहिरिनेको सङ्ख्या शून्यमा झरेको गाउँले बताउँछन् । “वातावरणीय सरसफाइका लागि गाउँले प्रायः सबैले आफ्नो घर अगाडि रुख बिरुवा, फूल रोपेको मुखियाले बताए । खुलारुपले दिसापिसाब गर्ने मात्र होइन, ३२ घरधुरी रहेको मुखिया टोलमा स्थानीय बासिन्दा सामाजिक विकृतिका रुपमा रहेको बालविवाहप्रति सजग रहेको स्थानीय रञ्जिता मुखियाले बताए ।

घर अगाडि रुख बिरुवा रोप्दा सौन्दर्य बढ्नुका साथै पूजाआजाका लागि फूल खोज्न अन्यत्र जानु नपर्ने मुखियाको भनाइ छ । स्थानीय गाउँले चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, वातावरणीय सरसफाइका साथै साबुन पानीले हात धुने बानीको विकास र व्यवहार परिवर्तन गर्न जुटेका छन् । सन् २०२२ सम्म सिरहालाई पूर्णसरसफाइयुक्त क्षेत्र घोषणा गर्ने लक्ष्य लिइएको छ । सोही लक्ष्यअनुरुप मुखिया टोल कात्तिक १० गते पूर्ण खुला दिसामुक्त उन्मुख बस्ती घोषणा गर्ने तयारी गरिएको छ । सिरहा जिल्ला २०७४ चैत ९ गते खुला दिसामुक्त क्षेत्र घोषणा भएको थियो ।