गण्डकी प्रदेश

मोदी खोलामा सात आयोजना, असला माछा पाउन मुश्किल

कुश्मा । ‘असला माछा’ पाइने खोला भनेर चिनिएको पर्वतको मोदी खोलामा अब भने असला माछा पाउन मुश्किल हुने भएको छ । पोखरा–बागलुङ राजमार्गअन्तर्गत पर्ने अम्बोटमा असला माछा खानकै लागि लाम लाग्नुपर्ने अवस्था हुन्थ्यो । मोदीका असला माछा भनेपछि टाढा टाढाबाट यात्रुहरु ओइरो लाग्थे । घण्टौं कुरेर पर्वतको सम्झना स्वरुप असला माछा लिएर पनि जान्थे कतिपयले । तर, अब मोदी खोलामा असला माछा त्यति सजिलै नपाइने भएको छ ।

मोदी खोलाको तटमा रहेका नयाँपुल, डिमुवा, पातिचौर, अम्बोट, परादी, दोविल्ला, झापे्रबगर जस्ता बजारमा हुने असलाको व्यापार अब सुस्ताउँदै गएको छ । मोदी खोलामा लहरै बनिरहेका जलविद्युत् आयोजनाहरुका कारण असलाको बजार खुम्चिँदै गएको हो । अहिले मोदी खोलामा निर्माण सम्पन्न भएका, निर्माणाधीन र निर्माण शुरु हुने क्रममा रहेका गरी सातवटा जलविद्युत् आयोजना रहेका छन् ।
ऊर्जा नदीको रुपमा ख्याति कमाएको मोदी खोलाको सिरानदेखि पुछारसम्म सातवटा जलविद्युत् आयोजना सञ्चालनमा ल्याइँदैछ । छोटो दूरीमा बग्ने एउटै नदीको पानी उपयोग गरेर निर्माण गर्न लागिएको सात जलविद्युत् आयोजना नेपालकै लागि पनि नमूना हो । मोदीमा दुई आयोजनाको निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेका छन् । अरु दुई आजोजना निर्माणाधीन अवस्थामा छन् भने तीन आयोजना निर्माणको चरणमा छन् । मोदी खोला मोदी गाउँपालिका, कुश्मा र फलेवास नगरपालिका हुँदै बगेको छ ।

विसं २०४६ देखि मोदी खोलामा जलविद्युत् आयोजना निर्माणको क्रम शुरु भएको थियो । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले भने – “अहिले नदीभरी सातवटा हाइड्रो हुँदैछन् । यिनीहरु हाम्रो समृद्धिको बाटो पहिल्याउने कुरामा सहायकसिद्ध हुनेछन् भन्ने अपेक्षा लिएका छौं ।” उनका अनुसार विसं २०५३ मा नेपाल विद्युत् प्राधिकरणले १४ मेगावाट क्षमताको मोदी खोला जलविद्युत् आयोजना निर्माण शुरु गरेको थियो भने युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले विसं २०६९ देखि युनाइटेड मोदी–१ आयोजनाबाट १० मेगावाट विद्युत् उत्पादन गर्दै आइरहेको छ ।

हाल मोदी खोलामा मनाङ ट्रेड लिङकको लगानीमा २० मेगावाट क्षमताको तल्लो मोदी र चौधरी ग्रुपको १५ दशमलव १ मेगावाट क्षमताको मध्य मोदी आयोजना निर्माण भइरहेका छन् । तल्लो मोदी आयोजनाको करीब ९५ प्रतिशत भन्दा बढी काम सकिएको छ । मध्य मोदीको भने करीब ५५ प्रतिशत काम सकिएको आयोजना कार्यालयले जनाएको छ । तल्लो मोदीले गत माघमै उत्पादन दिने गरी काम अघि बढाएको भए पनि प्राविधिक कारण केही ढिलाइ हुन पुगेको आयोजना प्रमुख पवनकुमार यादवले बताए ।

मोदी खोलामै पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले दुई र युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले एउटा जलविद्युत् आयोजना निर्माण गर्न लागिरहेका छन् । प्राधिकरणले अपर मोदी ‘ए’ बाट ४२ मेगावाट र अपर मोदीबाट १८ दशमलव २ मेगावाट विद्युत् निकाल्ने लक्ष्य राखेको छ ।

युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले साढे १० मेगावाटको युनाइटेड मोदी–२ निर्माण थाल्न अघिल्लो वर्ष सर्वसाधारणबाट लगानी जुटाएको थियो । गत वर्ष जिल्लावासीबाट १० करोड तथा सर्वसाधारणबाट १२ करोड रुपैयाँ शेयर जारी गरी सङ्कलन गरिएको थियो । युनाइटेड मोदीले नयाँ आयोजना निर्माणको मिति अन्योलमा परे पनि वातावरणीय प्रभाव मूल्याङ्कनलगायत आयोजनाका लागि आवश्यक काम अघि बढिरहेकाले आयोजना निर्माण हुनेमा कुनै आशङ्का नरहेको जनाएको छ ।

“आयोजना बन्ने कुरामा दुई मत छैन,” युनाइटेड मोदीका सञ्चालक उपेन्द्र गौतमले भने – “लागत केही बढेकाले अब कसरी अघि बढ्ने भन्ने अन्योल मात्र थपिएको हो ।” प्राधिकरणले ४२ मेगावाटको अपर मोदी ‘ए’ र १८ दशमलव २ मेगावाटको अपर मोदी जलविद्युत् आयोजना निर्माणको काम अघि बढाइसकेको छ । दुबै आयोजनाको काम अगाडि बढाइएको जानकारी अपर मोदी आयोजना कार्यालयले दिएको छ ।

पर्वतको मोदी खोलामा निर्माण भएका र निर्माणको क्रममा रहेका सात आयोजनाबाट कुल १३० मेगावाट विद्युत् उत्पादन हुनेछ । हाल सञ्चालनमा रहेका मोदी खोला र युनाइटेड मोदीबाट २४ मेगावाट जलविद्युत् उत्पादन भइरहेको छ । मनाङ ट्रेड लिङ्कले निर्माण गरिरहेको तल्लो मोदी आयोजना २० मेगावाट क्षमताको हो ।

चौधरी ग्रुपले निर्माण गर्न लागेको मध्य मोदीको क्षमता १५ दशमलव १ मेगावाट छ । विसं २०७१ मंसिरबाट निर्माण शुरु गरिएको उक्त आयोजनाको आधाजसो काम सकिएको आयोजना पक्षले जनाएको छ ।

त्यसैगरी, युनाइटेड मोदी हाइड्रोपावर कम्पनीले निर्माण गर्ने युनाइटेड मोदी–२ को क्षमता साढे १० मेगावाटको छ । निर्माणाधीन दुबै आयोजनाले आगामी दुई वर्षभित्र उत्पादन दिनेछन् । निर्माण सम्पन्न भएका र निर्माणाधीन सबै आयोजनाहरुको उत्पादन जोड्दा १२९ दशमलव ८ मेगावाट पुग्छ ।