स्वास्थ्य

मुटु अस्पतालमा अत्याधुनिक सिटी स्क्यान उपकरण

बुटवल । गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलमा अत्याधुनिक सिटी स्क्यान उपकरण भित्रिएको छ । उपकरणले ‘सिटिए कोरोनरी’ स्पष्ट रुपमा देखाउने र मुटुमा जाने नसामा देखिने समस्या पत्ता लगाउन सहज हुने अस्पतालका रेडियोलोजिस्ट डा. अजिज उल्लाहले जानकारी दिए ।

उनले मुटुसँग जोडिएका नसाको अवस्थाका बारेमा पनि सिटी स्क्यानबाट जानकारी लिन सकिने उल्लेख गर्दै करीब तीन सेकेण्डमा नै इमेज लिन सकिन्छ भने । रु सात करोड लगानीमा भित्र्याइएको उक्त उपकरणबाट मुटुबाहेक, मिर्गौला, फोक्सो, टाउको, घुँडालगायत शरीरको विभिन्न अङ्गको सिटी स्क्यान गर्न मिल्ने बताइएको छ । रुपन्देहीको क्रिमसन, एपोलो र भैरहवा मेडिकल कलेजमा १६ स्लाइसको मात्रै सिटी स्क्यान उपकरण रहेको छ ।

गौतमबुद्ध सामुदायिक मुटु अस्पताल, बुटवलका अध्यक्ष एजाज आलमले गुणस्तरीय स्वास्थ्य सेवाका लागि उपकरण भित्रिएको जानकारी दिँदै उपकरण सञ्चालनका लागि जनशक्तिको व्यवस्थापन पनि भएको बताए । उनले अमेरिकाको जी कम्पनीबाट एक महीनाअघि मात्रै अस्पतालमा भित्रिएको उक्त उपकरण चार दिनदेखि सञ्चालनमा रहेको समेत जानकारी दिए ।

मुटु अस्पतालमा गुल्मी, अर्घाखाँची, पाल्पा, कपिलवस्तु, नवलपरासी, रुपन्देही, बाँके, बर्दिया, रोल्पा, रुकुमलगायत जिल्लाबाट सेवाग्राही आउँछन् । रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीको सहयोगमा भित्रिएको सो उपकरणको शनिबार प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले उद्घाटन गर्दै छन् ।