खेलकुद

एएफसी यु–१९ छनोटमा नेपाल भारतसँग खेल्दै

काठमाडौँ । एएफसी यु–१९ फुटबल च्याम्पियनसिप छनोटमा नेपालले आज आफ्नो दोस्रो खेलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्याण्डको चोनबुरी रङ्गशालामा हुने खेल नेपाली समयानुसार दिउँसो २ः४५ बजे शुरु हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । प्रतियोगितामा अङ्कबिहीन नेपाललाई अघिल्लो चरण पुग्न आजको खेलमा भारतलाई हराउनुपर्ने दबाब छ ।

नेपाल आफ्नो पहिलो खेल कात्तिक ७ गते थाइल्याण्डसँग ३–० गोल अन्तरले पराजित भएको थियो । भारतले भने पाहिलो खेलमा पाकिस्तानलाई १८–० गोल अन्तरले हराएको थियो । कात्तिक ११ गतेसम्म सञ्चालन हुने छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र थाइल्याण्ड छन् । प्रतियोगितामा एक/एक खेल जितेको भारत र थाइल्याण्डसँग तीन/तीन अङ्क छ भने नेपाल र पाकिस्तान अङक्विहीन छन् ।

नेपालले समूहचरणको अन्तिम खेल कात्तिक ११ गते पाकिस्तानसँग भिड्नेछ । पहिलो चरणको छनोटबाट शीर्ष दुई टोलीले दोस्रो चरणमा प्रवेश गर्नेछन् । नेपाली टोली कात्तिक ३ गते त्यसतर्फ गएको हो । पहिलो खेलमा पाकिस्तानविरुद्ध फराकिलो जित निकालेको भारत उच्च मनोबलका साथ मैदान उत्रदैछ भने पहिलो खेलमा पराजित नेपाल केही दबाबमा हुनेछ ।