सुदूरपश्चिम

अपाङ्गता भएका व्यक्तिलाई सामुदायिक वनबाट भत्ता

कञ्चनपुर । अपाङ्गता भएका व्यक्तिलाई परिचयपत्रका आधारमा स्थानीय तहका साथै एक सामुदायिक वनले पनि मासिक रूपमा घरदैलोमै गएर भत्ता दिन थालेको छ । शुक्लाफाँटा नगरपालिका–८ मा रहेको बैजनाथ सामुदायिक वनले उपभोक्ता परिचयपत्रका आधारमा अपाङ्गता भएका १४ जनालाई मासिक रु ३०० का दरले भत्ता उपलब्ध गराउँदै आएको हो ।

घाँस दाउरा, काठ र दण्ड जरिवानाबाट सङ्कलन हुने रकममध्ये केही रकम अपाङ्गता भएका व्यक्तिलाई दिँदै आएको सामुदायिक वनका अध्यक्ष बहादुरसिंह महराले बताए । बीस महीनाको भत्ताबापतको रु छ हजार रकम एकमुष्ट रूपमा अपाङ्गता भएका व्यक्तिलाई उपलब्ध गराएका छौँ, उनले भने, “भत्ता पाउनेमा सात महिला र सात पुरुष छन् ।”

सामुदायिक वनबाट भत्ताको रकम थाप्दै आएका छोटेलाल चौधरीले परिचयपत्र बनाउन नसक्दा नगरपालिकाबाट उपलब्ध हुने भत्ता पाउन नसके पनि सामुदायिक वनका पदाधिकारीले भने उपभोक्ता भएकै आधारमा घरमै पुगेर भत्ताको रकम दिएपछि निकै आफू खुशी भएको बताए ।

वर्षभरिको भत्ताको रकम एकमुष्ट रूपमा पाइने भएकाले लुगाफाटो खरिद गर्न र व्यक्तिगत खर्च गर्न निकै सहज भएको जानकारी दिँदै उनले भने, “भत्ताको रकम पाइन थालेपछि परिवारका सदस्यसँग पैसाकै लागि हात थाप्नुपरेको छैन ।”

सामुदायिक वनबाट काठ, दाउरा र घाँस मात्रै पाइन्छ भन्थे वीरबहादुर बोहराले भने, “हामीजस्ता अपाङ्गता भएका व्यक्तिलाई भत्ताको रकम दिएर सामुदायिक वनले गुन लगाएको छ ।” सामुदायिक वनको आम्दानीको रकम स्थानीय तहसँग समन्वय गरी सामाजिक क्षेत्रमा खर्च गर्ने योजनामा रहेको अध्यक्ष महराले बताए । उक्त वनले चालु आवमा रु २७ लाख आम्दानी गरेको छ । सामुदायिक वनमा पाँच सय उपभोक्ता आश्रित छन् । विसं २०५८ मा दर्ता भएको सो वन २३० दशमलव शून्य एक हेक्टर जमीनमा फैलिएको छ । विभिन्न जीवजन्तुको आश्रयका रूपमा रहेको सामुदायिक वन विजयसाल संरक्षणमा समेत उत्कृष्ट छ ।