पर्यटन/संस्कृति

पर्यटकीयस्थलको पहिचान एवं प्रबद्र्धनका लागि पर्यटन प्रबद्र्धन समिति गठन

दमौली । व्यास नगरपालिकाले नगर क्षेत्रभित्र रहेका पर्यटकीयस्थलको पहिचान एवं प्रबद्र्धनका लागि पर्यटन प्रबद्र्धन समिति गठन गरेको छ । नगर कार्यपालिकाको बिहीबार बसेको बैठकले व्यास नगरपालिका–२ का अध्यक्ष काशीराम श्रेष्ठको अध्यक्षतामा सो समिति गठन गरेको हो । समितिको सदस्यहरूमा इञ्जिनीयर धु्रव पण्डित, सन्तोष श्रेष्ठ, केबी थापा, सुशीला शर्मा, आशा दरै रहेको छ भने समितिको विशेषज्ञ सल्लाहकारमा तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिं गुरुङ तथा सदस्य–सचिवमा नगरपालिकाका शाखा अधिकृत विमल गिरी चयन भएका छन् ।

बैठकले नगर प्रमुख बैकुण्ठ न्यौपानेको संयोजकत्वमा नगरस्तरीय समुदाय–प्रहरीपालिका समितिसमेत गठन गरेको छ । सो समितिको सहसंयोजकमा नगरपालिकाका उपप्रमुख मीरा जोशी र जिल्ला प्रहरी कार्यालयका जेष्ठ प्रहरी अधिकृत रहेको छ भने सदस्यमा व्यास नगरपालिका–१० का अध्यक्ष तुलसीराम सापकोटा रहेका छन् । बैठकले स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत विविध कार्यक्रम कार्यान्वयनका लागि सिफारिस गरी पठाउने निर्णय गरेको अध्यक्ष मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

साथै विपद् व्यवस्थापनका लागि हरेक वडाबाट एक/एक जना कर्मचारीसमेत सहभागी हुने गरी अग्नि नियन्त्रण टोली र नगर प्रहरी गरी २४ जनालाई तालीम प्रदान गर्ने, सामुदायिक विद्यालय एकीकरण प्रक्रियालाई अगाडि बढाउन आवश्यक गृहकार्यका लागि नगर शिक्षा समितिमार्फत सम्भाव्यता अध्ययन गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

प्राकृतिक प्रकोपबाट१२ ले ज्यान गुमाए

प्राकृतिक प्रकोपबाट तनहुँ जिल्लामा एक वर्षको अवधिमा १२ जनाले ज्यान गुमाएका छन् । आर्थिक वर्ष २०७४/७५ मा बाढी/अबिरल वर्षा, चट्याङ, हावाहुरी, आगलागीबाट १२ जनाको मृत्यु भएको हो । बाढी र अबिरल वर्षाका कारण छ जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । त्यस्तै चट्याङबाट दुई जनाले ज्यान गुमाएको प्रहरी उपरीक्षक शिद्धीविक्रम शाहले जानकारी दिए ।

हावाहुरी र असिनाबाट एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् । त्यस्तै आगलागीबाट तीन जनाले ज्यान गुमाएका र तीन घाइते भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । सोही अवधिमा आगलागीका कारण ८६ चौपायाको मृत्यु भएको र १४ चौपाया घाइते भएका थिए । प्राकृतिक प्रकोपका कारण ३३ घर र २३ गोठमा क्षति पुग्नुका साथै रु एक करोड पाँच लाख सात हजार बराबरको भौतिक संपति क्षति भएको प्रहरीले जनाएको छ । हावाहुरी र असिनाले ११ घरमा क्षति पुगेको आगलागीबाट २२ घर नष्ट भएको थियो ।