लुम्बिनी

हत्या अभियोगमा तीन पक्राउ

नवलपरासी । पश्चिम नवलपरासीमा भएको गणेश सहानीको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ । हत्यामा संलग्न भएको आरोपमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका नर्मदेश्वर चौहान, दीनबन्धु भन्ने ओमकार पाण्डे र जनक गुरुङलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–४ बर्दघाट पुल नजिकको बगैँचामा गत सोमबार राति पाल्हीनन्दन गाउँपालिका–१ निवासी सहानीको हत्या भएको थियो । सहानीको परिवारजनले इलाका प्रहरी कार्यालयमा उनीहरूविरुद्ध किटानी जाहेरी दिएपछि जिल्ला प्रहरी कार्यालयमा राखेर उनीहरुमाथि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा चालकको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको कावासोती–११ खरकट्टाजङ्गल क्षेत्रमा बिहीबार साँझ दुवै मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन् ।

दुर्घटनामा परी लु५प २१७१ नं को मोटरसाइकल चालक पूर्वी नवलपरासी कावासोती–१२ पिठुवा बस्ने वर्ष २१ का मेनजन गुरौको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी ना५९प ८४६४ नं का अर्का मोटरसाइलक चालक पूर्वी नवलपरासी कावासोती–३ बस्ने वर्ष २० का कासिकराज अमात्य र सोही मोटरसाइकलको पछाडी सवार कावासोती–३ बस्ने वर्ष २३ का खिमलाल कँडेल घाइते भएको प्रहरीले जनाएको छ ।