राजनीति

कांग्रेस नेता कोइरालाले भने, ‘राज्यका सबै निकायमा ओली सरकारले अराजकता मच्चायो’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कम्युनिष्टहरुमा पलाएको दुई तिहाईको दम्भले मुलुक दुर्घटनाको संघारमा पुगेको बताएका छन् । कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकार भ्रष्टाचारको अखडा बनेको पनि उनले आरोप लगाए ।

गण्डक टोखा प्रजातान्त्रिक समाज नेपालले बुधबबार काठमाडौंमा आयोजना गरेको चियापान कार्यक्रममा कांग्रेस नेता कोइरालाले राज्यका सबै निकायमा कम्युनिष्टहरूले कब्जा जमाएर अराजकता मच्चाएको दाबि गरे । अहिलेको सरकार तानाशाहि प्रबृतिबाट चलेको भन्दै नेता कोईरालाले यो सरकारबाट जनता सचेत हुन आवश्यक रहेको बताए ।

उनले नेपाली सेना मात्रै राजनीतिक हस्तक्षेप हुनबाट बचेको उनले बताए । नेता कोइरालाले निर्मला पन्तको बलात्कार र हत्याकाण्डमा प्रहरी प्रशासन निरीह बनेको समेत बताए ।

उस्तै उनले कांग्रेसलाई संकट र अप्ठ्यारो परेको समयमा पार्टीका बिरुद्ध लाग्ने जुनसुकै तहका नेता भएपनि त्यस्ता व्यक्तिलाई पार्टीबाट निष्काशन गर्ने चेतावनी समेत दिएका छन् ।