खेलकुद

एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट : नेपाल अाज भारतसँग खेल्दै

काठमाडौँ । एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तगर्त समूह बीको आफ्नो दोस्रो खेलमा नेपालले अाज भारतसँग प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको खेल थाइल्याण्डको चोनबुरीस्थित चोनबुरी रंगशालामा दिउँसो तीन बजेदेखि सुरु हुनेछ ।

यसअघि पहिलो खेलमा आयोजक थाइल्याण्डसँग ३–० गोलअन्तरले पराजित भएको नेपालका लागि छनोटको सम्भावना जीवितै राख्न अाज भारतलाई हराउनैपर्ने छ ।

खेलअघिको पत्रकार सम्मेलनमा बिहीबार नेपाली प्रशिक्षक हरिओम श्रेष्ठले गर वा मरको अवस्थामा रहेकाले नेपालले आक्रामक रणनीति लिने बताए । ‘हामीलाई जसरी पनि जित्नुछ, दुवै टोलीको स्तर समान छ । करिव करिव यही टोलीलाई हामीले एक महिना अघि हराएका थियौं ।’ प्रशिक्षक श्रेष्ठले भने ।

भारतीय प्रशिक्षक एलेक्स एम्ब्रोसले पाकिस्तानबिरुद्ध ठूलो मार्जिको जित निकाले पनि नेपालबिरुद्धको खेल आफूहरुका लागि सहज नहुने बताए ।

‘थाइल्याण्डबिरुद्ध उनीहरुको खेल हेरेपछि नेपाली खेलाडीहरु उच्चस्तरको छन् भन्ने प्रमाणित भएको छ तर, हामी जित्नका लागि खेल्नेछौं, उमेर समूहको खेल नतिजा भन्दा पनि अनुभवका लागि महत्वपूर्ण हुन्छ ।’ प्रशिक्षक एलेक्सले भने ।

समूहको पहिलो खेलमा भारतले पाकिस्तानलाई १८–० गोलको फराकिलो अन्तरले हराएको थियो ।

समूह बीमा भारत र थाइल्याण्डको तीन तीन अंक छ भने नेपाल र पाकिस्तान अंकबिहीन छन् । नेपालले बिहीबार सामान्य अभ्यास गरेको थियो ।