कृषि

कृषि ज्ञान र पशु सेवा विज्ञ केन्द्रको स्थापना

धनगढी । सङ्घीय सरकारको निर्णयानुसार सुदूरपश्चिम प्रदेशका छ जिल्लामा कृषि ज्ञान केन्द्र र पाँच जिल्लामा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको छ । कृषि ज्ञान केन्द्र अछाम, बझाङ, बाजुरा, डडेलधुरा, बैतडी र कञ्चनपुरमा स्थापना गरिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी हरिप्रसाद जोशीले बताए । कञ्चनपुरको केन्द्रले कैलाली, डडेलधुराको केन्द्रले डोटी र बैतडीको केन्द्रले दार्चुला हेर्ने गरी कार्यालय स्थापना गरेर सेवा शुरु गरिएको हो ।

यस्तै पशु सेवाविज्ञ केन्द्र बैतडी, डडेलधुरा, कञ्चनपुर, बाजुरा र बझाङमा स्थापना गरिएको छ । बैतडीले दार्चुला, बाजुराले अछाम, डडेलधुराले डोटी र कञ्चनपुरले कैलालीलाई हेर्ने गरी कार्यालय स्थापना भएको बताइएको छ । स्थापित कार्यालयमा दरबन्दीअनुसार कर्मचारीको खटनपटन हुन नसक्दा सेवा प्रभावकारी बन्न सकेको छैन् । विगतमा सुदूरपश्चिम प्रदेशका सबै जिल्लामा कृषि विकास र जिल्ला पशु सेवा कार्यालय थिए ।

सूचना अधिकारी जोशीले भने, ‘‘कार्यालय स्थापनासँगै कार्यालयका लागि चालू आवको बजेट तथा कार्यक्रम प्रदेश मन्त्रालयबाट निकासा गर्ने तयारी भइरहेको छ ।” साविकका कृषि र पशु सेवा कार्यालय रहेका स्थानमा एकाइ कार्यालय स्थापना गरी सेवा सञ्चालन गर्नका लागि मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसंँग अनुरोध गरेको उनले जानकारी दिए।

पशुपतिनगर–भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मातहतमा रहने गरी कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । गत असोज २८ गते प्रदेश नं १ को सरकारले गरेको सो निर्णय कार्यान्वयन गर्दै बुधबारदेखि पुरानो कृषि विकास कार्यालय रहेको भवनमा कार्यालय सञ्चालनमा आएको हो । जिल्लाभरि कार्यक्षेत्र रहेको सो केन्द्रमा १४ दरबन्दी छ । पुरानो कृषि विकास कार्यालयका प्रमुख रामस्वार्थ साहलाई पुरानै जिम्मेवारी तोकिएको छ । विशेष सेवा, तालीम तथा प्रचारप्रसार, अध्ययन परीक्षण तथा तथ्याङ्क र प्रशासन शाखा रहने उक्त केन्द्रलाई प्रदेश सरकारले १८ कार्यभार सुम्पेको छ ।