अन्तर्राष्ट्रिय

इन्टरनेट यौन गतिविधिको कुलत, एक छात्राको हत्या

साल्ट लेक सिटी, अमेरिका । अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष जेलमा बसेपनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ ।

सन् २०१२ मा रेकर्ड गरिएको र उटाह राज्यका अधिकारीहरुले हालै सार्वजनिक गरेको विवरणमा मेल्भीन रोल्यान्ड नामका ती व्यक्तिको कथा समेटिएको छ । व्यभिचारमा फसेका मेल्भीनले किशोरी र जोखिममा परेका महिलालाई लोभ्याउने, व्यक्तिगत वा अनलाइनबाट भेटेका महिलालाई चलाखीपूर्वक आफ्नो जालमा पार्ने गरेको प्रहरीको भनाइ छ ।

तिनै ३७ वर्षीय रोल्यान्डले सोमबार राति वासिङ्टनको पुलम्यान निवासी २१ वर्षीया लरेन म्याक–क्लस्कीमाथि विश्वविद्यालय परिसरभित्रै गोली प्रहार गरेर हत्या गरेको प्रहरीले बताएको छ । लरेनमाथि गोली चलाउने रोल्यान्डले पनि लगत्तै आत्महत्या गरेका थिए ।

पीडितकी आमा जील म्याक–क्लस्कीले रोल्यान्डले झुटो कुरा बताएर छोरीलाई फसाएको बताइन् । त्यही थाहा पाएर छोरीले एक महिनासम्म चलेको प्रेमसम्बन्ध तोडेकी थिइन् । रोल्यान्डले आफ्नो नाम, उमेर र आपराधिक इतिहास सबै झुटो बताएका थिए ।

लरेन म्याक–क्लस्कीले त्यसपछि विश्वविद्यालयका प्रहरीसमक्ष यौन प्रताडनाको आरोप लगाउँदै उजुरी दिएकी थिइन् । गोलीकाण्ड हुनुअघि लरेनको परिवारले रोल्यान्ड विरुद्ध मुद्दा दर्ता गर्ने तयारी समेत गरिरहेको थियो ।

उटाहका अधिकारीहरुले सन् २०१० देखि २०१८ सम्मको पृष्ठभूमि विश्लेषण गर्दा रोल्यान्डको व्यवहारमा कुनै परिवर्तन नआएको र महिलासँग नजिक हुन अनलाइनको प्रयोग निरन्तर गरिरहेको बताएका छन् ।

यसै वर्षको शुरुमा रोल्यान्डले आफू परिवर्तन भइसकेको बयान दिएका थिए । उनले जेलमा रहँदा बनाएको दौंतरी र एक बच्चाका पिताले आफूलाई सहानुभूति दिएको तथा नियम कानुनका बारेमा धेरै सिकेको बताएका थिए । “विगतको भन्दा अहिले मलाई धेरै फरक अनुभूति भएको छ,” रोल्यान्डले भनेका थिए । “म पहिले स्वार्थी, आत्मरतिक व्यक्ति थिएँ । मेरो कथा यत्ति हो ।”

दुई महिनापछि रोल्यान्डको वयानका आधारमा उनलाई केहीचाँडो जेलमुक्त गरियो । कम उमेरकी एक बालिकालाई अनलाइनमार्फत प्रलोभनमा पार्ने कोशिश गरेको तथा यौन शोषणको प्रयत्न गरेको आरोपमा दोषी ठहर गर्दै रोल्यान्डलाई सन् २००४ मा जेलमा हालिएको थियो ।

अनलाइन–आधारित यौन अपराधको अनुसन्धानका क्रममा प्रहरीले रोल्यान्डलाई पक्राउ गरेको थियो । उनको बारेमा छानबिन भइरहेको अवस्थामा एक महिलाले आफूमाथि पनि तिनै रोल्यान्डले यौन आक्रमण गरेको प्रहरी समक्ष वयान दिएकी थिइन् ।

रोल्यान्डलाई पुनः दोस्रो पटक जेलमा पठाइयो । उनीमाथि यसपटक अश्लिल सामग्री (पोर्नोग्राफी) राखेको र उपचार (थेरापी) पूरा नगरेको आरोप लगाइएको थियो ।

रोल्यान्ड वास्तवमा न्यूयोर्कमा जन्मिएका र एक वृद्ध जोडीले उनलाई धर्मपुत्र राखेका थिए, तर सानै उमेर छँदा ती वृद्ध दम्पतीको मृत्यु भएको थियो । त्यसपछि उनलाई सरकारी आवासमा पठाइयो र कोलोराडोको एक आवासीय स्कुलमा भर्ना गरियो । उनले त्यहाँबाट माध्यमिक तहको पढाइ पूरा गरेका थिए ।

उनले क्यालिफोर्नियाको बर्कलेस्थित बुद्धिस्ट इन्स्टिच्यूटमा पनि केही समय बिताए । जब्स कप्र्समा काम गरेका उनले साल्ट लेक कम्युनिटी कलेजमा कक्षा पनि लिए ।

फेब्रुअरीमा प्रहरी समक्ष दिएको वयानमा रोल्यान्डले आफू उटाह विश्वविद्यालयमा स्वास्थ्य विषयमा अध्ययनरत रहेको बताएका थिए । तर, उनी सन् २००३/२००४ मा दुई सेमेस्टर मात्र यस विश्वविद्यालयमा पढेका थिए ।
रोल्यान्डले आफू चिकित्सक बन्ने सोचमा रहेको बताएका थिए, तर आफ्नो जीवन “इन्टरनेटमा आधारित यौन गतिविधि” ले बर्बाद बनाएको उनले स्वीकारेका छन् ।

“कमजोर सोचाई” ले आफूलाई जेलमा पटकपटक लगेकामा उनी आफैंलाई दोष दिन्थे । उनको सम्भावित हिंसात्मक व्यवहारका बारेमा सरकारी अधिकारीहरु जानकार भएपनि सुध्रिने मौका दिइएको थियो ।

कैंयौं खुला सुनुवाईका क्रममा केही अधिकारीले रोल्यान्डको व्यवहारमाथि प्रश्न गरेका थिए । उनीहरुले रोल्यान्डले पूर्ण उपचार गर्न नसक्ने र समस्याबाट बाहिर उम्कने कठिन हुने बताएका थिए ।

सुनुवाइ गर्ने एक अधिकृत पेगीन स्टेवार्टले सन् २०१६ मा भएको यस्तै सुनुवाईमा पनि रोल्यान्डले स्त्रीमाथि गरिने व्यवहारमा कुनै फरक ल्याउन नसकेको बताइन् । रोल्यान्डले जेलका एक कर्मचारीको मद्दत लिएर इन्टरनेटको पहुँच हासिल गरेका थिए । उनको कुत्सित व्यवहारका कारण जेलभित्रै उपलब्ध कतिपय कार्यक्रममा उनलाई सहभागी गराइएको थिएन ।

एउटा घटनामा, रोल्यान्डले जेलबाट छुटेकी एक महिलालाई पत्र लेख्दै जेल बाहिरको सडकमा फरक किसिमका लुगा लगाएर देखापर्न आग्रह गरेका थिए, स्टेवार्टले भनिन् ।

हत्या गरिएकी म्याक–क्लस्कीको सम्झनामा विश्वविद्यालयका सयौं विद्यार्थीले पुष्पगुच्छा अर्पण गर्नुका साथै मैनवत्ती बालेका थिए । विश्वविद्यालयको झण्डालाई पनि आधा झुकाइएको थियो । एथ्लेटिक्स खेलाडी समेत रहेकी सञ्चार विषय अध्ययनरत म्याक–क्लस्कीको सम्झनामा ट्राक एन्ड फिल्ड खेलाडीलाई प्रोत्साहन गर्न छात्रवृत्ति स्थापना गर्न रकम सङ्कलन गरिएको छ ।

“उनी अत्यन्तै योग्य, इमान्दार थिइन्, हामीले वास्तवमै एक असल साथी गुमाएका छौं,” विडलले भने ।
उटाह फुटबल टिमले समेत यस साता म्याक–क्लस्कीको सम्झनामा हातमा कालोपट्टी बाँधेर खेल्ने जनाएको छ ।