खेलकुद

तेस्रो हेलम्बु म्याराथनको उपाधि थुलुङलाई

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा खेलकूद पर्यटन विकास गर्ने उद्देश्यले आयोजना गरिएको तेस्रो हेलम्बु म्याराथनको उपाधि किरण थुलुङले जितेका छन् । ४२ किलोमिटर दूरीको म्याराथन किरणले चार घण्टा ३२.३० मिनेटमा पूरा गरे । म्याराथनमा सुमन कुलुङ दोस्रो तथा सन्तोष खालिङले तेस्रो स्थान हासिल गरेका छन् । सुमनले उक्त दूरी चार घण्टा ३८.४५ मिनेटमा र सन्तोषले पाँच घण्टा ५२.३० मिनेटमा पूरा गरे । शीर्ष तीन स्थानमा रहनेले क्रमशः २५, १५ र रु १० हजार पुरस्कार पाएका छन् ।

प्रतियोगिताअन्तर्गतनै भएको भेट्रान्सतर्फ गङ्गालाल तामाङले पहिलो स्थान हासिल गरे । उनले ४२ किमीको दूरी पाँच घण्टा २६.५० मिनेटमा पूरा गरे । भीमबहादुर गुरुङले पाँच घण्टा ५०.४७ मिनेटका साथ दोस्रो र दावा जाङमु शेर्पाले छ घण्टा ४५ मिनेटका साथ तेस्रो भए । उनीहरुले क्रमशः रु १० हजार, आठ हजार र पाँच हजार प्राप्त गरे ।

म्याराथनको बाटो हेलम्बु गाउँपालिकाको दुई हजार ४७४ मिटर उचाइमा अवस्थित कुटुङसाङबाट शुरु भई दुई हजार ५६० मिटर उचाइमा अवस्थित सेर्माथाङसम्म निर्धारण गरिएको थियो । पुरा म्याराथनमा १८ पुरुष र तीन महिलाले सहभागिता जनाएको राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले जनाएको छ ।

छात्र र छात्राबीच भएको पाँच किमीको दौडमा छात्रतर्फ सागर श्रेष्ठले बाजी मारे । उनले २४.११ मिनेटमा सो दूरी पूरा गरे । २४.४९ मिनेटका साथ दावा दोर्जे ह्योल्मो दोस्रो र २८.५३ मिनेटका साथ प्रवीन बोहरा तेस्रो भए । छात्रातर्फ निमा डोल्मा ह्योल्मोले ३७.३३ मिनेटसाथ पहिलो स्थान हात पारिन् । दोस्रो स्थानमा रहेकी श्रेशान सिल्पकारले ३७.४४ र तेस्रो स्थानमा रहेकी प्रकृति सुवालले ३८.१७ मिनटका साथ दूरी पूरा गरे । उत्कृष्ट शीर्ष तीनले नगद रु पाँच हजार, तीन हजार र एक हजार प्राप्त गरे ।

प्रतियोगिताको पाँच किमी खुलातर्फको प्रतिस्पर्धामा पुरुषतर्फ पेम्बा टासी ह्योल्मोले २५.०७ मिनेटसाथ पहिलो भए । दावा लामा ३१.२६ र निनो शेर्पा ३२.२० मिनेटमो सो दुरी पार गरी दोस्रो र तेस्रो भए । महिलातर्फ एकल प्रतिस्पर्धा गरेकी रेखा विष्टले २७.५० मिनटमा दूरी पूरा गरिन् । पहिलो, दोस्रो र तेस्रोले क्रमशः रु पाँच हजार, तीन हजार र दुई हजार प्राप्त गरे ।

विजेतालाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले पुरस्कार वितरण गरे । खेलकूदमन्त्री विश्वकर्माले हेलम्बुकै चोकम्बो भन्ने स्थानमा ‘हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर’को स्थापनाका लागि काम अघि बढिसकेको भन्दै त्यसका लागि यस वर्ष रु १० लाख बजेट छुट्याइएको जानकारी दिए । स्थानीय छिरिङ लामाको एकल प्रयासमा तीन संस्करणसम्मको म्याराथन आयोजना भएको हो । लामा सन् २००५ को एभरेष्ट म्याराथनका विजेता हुन् ।